चर्चित गीत ‘नौतुना रेलैमा’ यतिबेला सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।  चर्चित गीत ‘नौतुना रेलैमा’ यतिबेला सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

नीता ढुङ्गाना निर्देशित बहुप्रतिक्षित नेपाली फिल्म ‘पार्वती’को चर्चित गीत ‘नौतुना रेलैमा’ यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। केही समयअघि ओएसआर डिजिटल युटुबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा हालसम्म ३० हजार २०० भन्दा बढी टिकटक भिडियो निर्माण भइसकेका छन्। गीत टिकटकसँगै फेसबुक, युट्युबलगायतका प्लेटफर्ममा समेत भाइरल भईरहेको छ।

 निर्माण पक्षले केही समयअघि ‘नौतुना रेलैमा टिकटक प्रतियोगिता’ समेत घोषणा गरेको थियो। प्रतियोगितामा सहभागी हुन इच्छुक दर्शकले उक्त गीतमा सिर्जनात्मक भिडियो बनाएर टिकटकमा पोस्ट गर्नुपर्ने व्यवस्था गरिएको थियो। निर्माण पक्षका अनुसार प्रतियोगिताका उत्कृष्ट तीन विजेताले आकर्षक नगद पुरस्कार प्राप्त गर्नेछन्।

जसअनुसार प्रथम हुनेले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। साथै पाँच जना सहभागीलाई चलचित्रको निःशुल्क टिकट प्रदान गरिने घोषणा गरिएको थियो।प्रतियोगितामा सहभागी हुन भिडियो पोस्ट गर्दा क्याप्सनमा #पार्वती भाद्र १२ नौतुना रेलैमा अनिवार्य प्रयोग गर्नुपर्ने बताइएको थियो।

उत्कृष्ट भिडियो र प्राप्त भ्युजका आधारमा विजेता छनोट गरिने निर्माण पक्षले जनाएको थियो।सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू नीता ढुङ्गाना, दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी र क्रिमसन श्रेष्ठले नृत्य गरेका छन्।

विवाहको समयमा महिलाहरूले खेल्ने रत्यौली संस्कृतिलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको गीतको भिडियोमा दीपाश्री निरौला पुरुषको भेषमा देखिएकी छन् भने नीता ढुङ्गाना महिलाकै पहिरनमा देखिएकी छन्।

नीता ढुङ्गानाकै कथा तथा निर्देशनमा बनेको चलचित्र ‘पार्वती’मा उनी स्वयं मुख्य भूमिकामा रहेकी छन्। फिल्ममा नीतासँगै दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ।निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्।

सुदीप बरालको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन रहेको यस फिल्मका प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने निर्माता हरिहर अधिकारी रहेका छन्।

नीता फिल्म्सको प्रस्तुतीमा निर्माण भएको चलचित्र ‘पार्वती’ आगामी भदौ १२ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ। गीतको बढ्दो लोकप्रियतासँगै फिल्मप्रति दर्शकको उत्सुकता समेत बढ्दै गएको निर्माण पक्षले जनाएको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti