चलचित्र ‘गौँथली’ को अग्रिम टिकट बुकिङ खुला चलचित्र ‘गौँथली’ को अग्रिम टिकट बुकिङ खुला

यही शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गौँथली’को अग्रिम टिकट बुकिङ खुला भएको छ । प्रदर्शन मिति नजिकिएसँगै राजधानी र मोफसलका अधिकांश मल्टिप्लेक्सहरूले मंगलबारदेखि नै चलचित्रको शो सार्वजनिक गर्दै बुकिङ खुला गरेका हुन् ।

देशकै ठूलो मल्टिप्लेक्सन चेन क्यूएफएक्सले शुक्रबारका लागि शो निकालेको छ । दोस्रो ठूलो मल्टिप्लेक्स चेन आइएनआई, वान सिनेमाजलगायतले पनि शो निकालेका छन् ।

देशभरका अधिकांश हलहरुले यो चलचित्रको अग्रिम टिकट बुकिङ खुलाएका छन् । चलचित्रका वितरक करण श्रेष्ठ ‘क्रेजी’का अनुसार हलहरूले शो उपलब्ध गराउने क्रम जारी छ । उनले भोलिसम्ममा देशभरका हलहरूबाट ‘गौँथली’ले २०० भन्दा बढी शो पाउने दाबी गरेका छन् ।

‘शो खुल्ने क्रममै छ, अहिले नै यति शो भन्न सकिन्न,’ वितरक श्रेष्ठ भन्छन्,‘तर भोलि सम्ममा देशभरबाट २ सय भन्दा बढी शो आउँछ ।’

प्रिमियरमा राम्रो प्रतिक्रियासहित उच्च हाइप बनाएको सिनेमाले राम्रो ग्रकसलेक्सन गर्नेमा निर्माण टिम विश्वस्थ छ । प्रिमियरमा सिनेमा हेरेकाले विषय, अभिनय र प्रस्तुतिले दर्शकलाई तन्ने प्रतिक्रिया दिएपछि निर्माण टिम त्यसको सकारात्मक प्रभाव हलमा देखिनेमा ढुक्क छ ।

कपिल रिजालले निर्देशन गरेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।

डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् ।

गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन छ । 

यो चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफ.डी. कम्पनीले वितरण गर्ने छन् । डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ रहेको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti