एभरेस्ट फिल्म फेस्टिभलमा १० हजार डलर पुरस्कार एभरेस्ट फिल्म फेस्टिभलमा १० हजार डलर पुरस्कार

 चीनमा आयोजित ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’का विजेतालाई काठमाडौंमा आयोजित समारोहमा कुल १० हजार अमेरिकी डलर नगद पुरस्कारसहित अवार्ड प्रदान गरिएको छ।

चीनको हुनान प्रान्तस्थित छाङसामा अप्रिल १४ देखि १९ सम्म भएको नेपाली चलचित्र सप्ताहमा ‘एन्जिला’ उत्कृष्ट चलचित्र घोषित हुँदै ४ हजार डलर पुरस्कार प्राप्त गरेको छ।

‘तेल भिसा’बाट शंकर घिमिरे उत्कृष्ट निर्देशक बन्दै २ हजार डलर प्राप्त गरे। ‘छक्का पञ्जा’बाट दीपकराज गिरी उत्कृष्ट अभिनेता र ‘कबड्डी ४’बाट मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भए। उनीहरूले जनही एक हजार डलर प्राप्त गरेका छन्।

‘महाजात्रा’बाट पुरुषोत्तम प्रधानले उत्कृष्ट छायाकार र ‘होस्टेल ३’ले उत्कृष्ट सम्पादन विधामा जनही एक हजार डलर पुरस्कार प्राप्त गरे।

डा. सिमोन किउको नेतृत्वमा चिनियाँ प्राध्यापक, चलचित्र विज्ञ तथा फिल्म कलेजका विद्यार्थी सम्मिलित टोलीले चलचित्रको मूल्यांकन गरेको आयोजकले जनाएको छ।

पुरस्कार वितरणका लागि हलिउड निर्देशक चेन शि–झेङसहित आठ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आएको थियो। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको अध्यक्षतामा सम्पन्न समारोहमा वरिष्ठ अभिनेता हरिहर शर्मा प्रमुख अतिथि थिए।

समारोहमा उपस्थित चलचित्रकर्मीले चिनियाँ प्रतिनिधिमण्डललाई उठेर ताली बजाउँदै ‘स्ट्यान्डिङ ओभेसन’ दिएका थिए।

फेस्टिभलका संस्थापक अध्यक्ष ली होङ्सुले चलचित्रमार्फत नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिने बताए। फेस्टिभल अध्यक्ष करुण थापाले यसले नेपाली चलचित्रका लागि चिनियाँ सिनेमा हल तथा ओटीटी बजारमा प्रवेशको ढोका खोल्ने विश्वास व्यक्त गरे।

बोर्ड अध्यक्ष डीसीले नेपाली चलचित्रले भविष्यमा चीनमा ठूलो व्यावसायिक बजार पाउने सम्भावना रहेको बताए।

समारोहमा चिनियाँ लगानीकर्ताले नेपाली निर्मातासँग सह–उत्पादनमा चलचित्र निर्माण गर्न र एआई प्रविधिमा आधारित चलचित्रलाई चिनियाँ ओटीटी प्लेटफर्ममा प्रदर्शन गर्न सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन्।

कार्यक्रमका आर्थिक प्रायोजक तथा ग्वाङझाउ सिगुआङयुन टेक्नोलोजीका अध्यक्ष ली हानसहित चिनियाँ प्रतिनिधिलाई विशेष सम्मान प्रदान गरिएको थियो। चिनियाँ प्रतिनिधिमण्डलले बोर्ड अध्यक्ष डीसी र फेस्टिभल अध्यक्ष थापालाई पनि सम्मान गरेको थियो।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti