सिन्दुरे जात्रा’को सुटिङ सम्पन्न सिन्दुरे जात्रा’को सुटिङ सम्पन्न

चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सकिएको छ । पहिलो र दोस्रो चरण गरेर भएको सिनेमाको छायांकन मंगलबार सकिएको हो ।

गत जेठ १ गते पर्वत जिल्लाको कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कको रमणीय भूगोलबाट यो चलचित्रको छायांकन सुरु भएको थियो । तर, सुटिङको यात्रा सहज भने रहेन । १५ दिनको छायांकन सकिएलगत्तै मुख्य अभिनेता विजय बराल घाइते भएपछि निर्माण कार्य केही समयका लागि स्थगित गर्नुपरेको थियो । उनको दाहिने हातको नाडीमा चोट लागेको थियो । विजय पूर्ण रूपमा स्वस्थ भएपछि पुनः दोस्रो चरणको छायांकन सुरु गरी मंगलबार समापन गरिएको हो ।

दुई चरणमा बाँडिएको यो चलचित्रको छायांकनका लागि ४० दिन लागेको निर्देशक सरोज पौडेलले जानकारी दिए । उनले राम्रो सिनेमा बनाउन कलाकार र प्राविधिकले मेहनत गरेको भन्दै धन्यवाद दिएका छन् ।

“हामीले धर्य र मेहनत गरेर राम्रो सिनेमा खिच्ने प्रयास गरेका छौँ । यो मेहनत र लगावका लागि म मेरो सबै टिमलाई धन्यवाद भन्न चाहन्छु,” निर्देशक पौडेलले भने, “मंसिर ४ गते दर्शकले एउटा राम्रो चलचित्र हलमा हेर्न पाउनु हुनेछ ।”

‘सिन्दुरे जात्रा’मार्फत निर्देशक सरोज पौडेल र कलाकारद्वय विजय बराल तथा अञ्जना बराइलीले दोस्रो पटक सहकार्य गरेका छन् । यसअघि यो टिमले नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफल मानिएको ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेको थियो ।

यस्तै, चोटका बावजुद सुटिङ पूरा गरेका अभिनेता विजय बरालले यस फिल्मलाई आफ्नो लागि चुनौतीपूर्ण र सन्तोषजनक बताएका छन् । उनले भने, “हातको चोटका कारण यो पटकको सुटिङ केही कठिन भयो, तर म फिल्मको विषयवस्तु र मेरो पात्रलाई लिएर निकै उत्साहित छु ।”

सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यस चलचित्रमा विजय र अञ्जनाका अलावा विनोद न्यौपाने, रामप्रसाद खनाल, कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा, पूर्वमिस नेपाल उषा खड्गी, हिउँवाला गौतम, राकेश खड्का, रजनी गुरुङलगायतका कलाकारहरूको पनि अभिनय देख्न सकिनेछ ।

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा निर्देशक पौडेल स्वयंको कथा छ ।

चलचित्रका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने आकाश, सुमन रञ्जित र श्याम मगर सह–निर्मातामा छन् ।

पदम बहादुर श्रेष्ठ (बाबु) डीओपी रहेको चलचित्रमा नहकुल खड्काको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहनेछ ।

रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्ने ‘सिन्दुरे जात्रा’ आगामी मंसिर ४ गते रिलिज हुने छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti