अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा–२०२६) को आयोजना अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा–२०२६) को आयोजना

इन्फा इभेन्ट्स यूके लिमिटेड तथा इन्फा नेपाल लिमिटेड (इन्फा इभेन्ट्स नेपाल) ले आयोजना गर्ने तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा–२०२६) को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएसँगै नेपाली फिल्म वृत्तमा अवार्ड प्रतिस्पर्धाको चर्चा तीव्र बनेको छ ।

आगामी साउन ३० गते काठमाडौंको याक एण्ड यति होटलमा आयोजना हुने अवार्ड समारोहअघि नै विभिन्न विधामा कसले बलियो उपस्थिति जनाएको छ भन्ने वहस प्रारम्भ भएको हो ।

यस वर्ष २०८२ सालभर प्रदर्शनमा आएका ४० भन्दा बढी नेपाली फिल्ममध्येबाट अनुभवी निर्णायक मण्डलले उत्कृष्ट पाँच मनोनयन छनोट गरेको हो । मनोनयन सूचीलाई हेर्दा केही फिल्मले अधिकांश मुख्य विधामा आफ्नो प्रभाव जमाएका छन् भने केही कलाकारले व्यक्तिगत अभिनयका कारण बलियो दावेदारी प्रस्तुत गरेका छन् ।

विशेषगरी ‘ऊनको स्विटर’, ‘जेरीः अन टप’, ‘कोशेढुंगा’, ‘परान’ तथा ‘आ बाट आमा’ ले मुख्य विधाहरूमा उल्लेखनीय उपस्थिति जनाएका छन् । उत्कृष्ट फिल्मदेखि निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा, सम्पादन, छायांकन, संगीतलगायत प्राविधिक विधासम्म यी फिल्मको नाम दोहोरिएको देखिन्छ ।

उत्कृष्ट चलचित्रतर्फ पाँचै मनोनीत चलचित्र फरक–फरक शैली र विषयवस्तु बोकेका छन् । सामाजिक कथा, पारिवारिक संवेदना, व्यावसायिक मनोरञ्जन र मौलिक प्रस्तुतिको मिश्रणले यस वर्षको प्रतिस्पर्धालाई अझ रोचक बनाएको छ ।

उत्कृष्ट निर्देशक विधामा दीपकप्रसाद आचार्य, नविन चौहान, सरोज पौडेल, सुदिप्ता तथा सुयोग गुरुङबीचको प्रतिस्पर्धा पनि निकै चासोको विषय बनेको छ । आ–आफ्ना फिल्ममार्फत उनीहरूले फरक शैलीको निर्देशन प्रस्तुत गरेका छन् ।

अभिनयतर्फ पनि यस वर्षको प्रतिस्पर्धा निकै सशक्त देखिएको छ । अनमोल केसी, नाजिर हुसेन, नीर शाह, पल शाह र विपिन कार्की उत्कृष्ट अभिनेताको दौडमा छन् भने आना शर्मा, जसिता गुरुङ, मिरुना मगर, रिश्मा गुरुङ र सुरक्षा पन्त उत्कृष्ट अभिनेत्री विधामा प्रतिस्पर्धा गर्दैछन् ।

निर्णायक मण्डलले मूल्याङ्कन पूर्ण रूपमा निष्पक्ष, पारदर्शी र अंक प्रणालीमा आधारित रहेको स्पष्ट पारिसकेको छ । त्यसैले अन्तिम नतिजाले दर्शकको अनुमानभन्दा फरक परिणाम पनि दिन सक्ने सम्भावना उत्तिकै रहेको फिल्मवृत्तमा चर्चा छ ।

अब सबैको नजर साउन ३० गते हुने अवार्ड समारोहतर्फ केन्द्रित भएको छ, जहाँ यस वर्षका उत्कृष्ट फिल्म तथा फिल्मकर्मीले प्रतिष्ठित ईन्फा ट्रफी उचाल्ने छन् ।

यसैबीच, तेस्रो संस्करणको ‘इन्टरनेशनल नेपाली फिल्म अवार्ड–२०२६ (इन्फा अवार्ड)’ को आयोजक संस्था आयोजक संस्था इन्फा इभेन्ट्स यूके लिमिटेडका अध्यक्ष उमेश राज मोक्तान तथा इन्फा नेपाल लिमिटेड (इन्फा इभेन्ट्स नेपाल) का अध्यक्ष सुनिल श्रेष्ठले अवार्डको सम्पूर्ण निर्णय स्वतन्त्र निर्णायक मण्डलले गर्ने तथा त्यसमा आयोजक, प्रायोजक अथवा अन्य कुनै पक्षको प्रभाव नरहने स्पष्ट पारेका छन् । 

यस वर्षका मनोनयनमा देखिएका पाँच रोचक तथ्य

ईन्फा अवार्ड–२०२६ को मनोनयन सूची सार्वजनिक भएसँगै यस वर्षको प्रतिस्पर्धामा केही रोचक तथ्यहरू पनि देखिएका छन् । मनोनयन सूचीको विश्लेषण गर्दा नेपाली चलचित्र उद्योगको बदलिँदो प्रवृत्तिसमेत झल्किएको छ ।

१. ‘ऊनको स्विटर’ र ‘जेरीः अन टप’ को बलियो उपस्थिति

मुख्यदेखि प्राविधिक विधासम्म ‘ऊनको स्विटर’ तथा ‘जेरीः अन टप’ ले उल्लेखनीय मनोनयन प्राप्त गरेका छन् । यी दुवै फिल्म धेरै विधामा दोहोरिँदा यस वर्षको सबैभन्दा बलियो प्रतिस्पर्धीका रूपमा हेरिएका छन् ।

२. नयाँ र अनुभवीको रोचक भिडन्त

उत्कृष्ट अभिनेता, अभिनेत्री तथा निर्देशक विधामा स्थापित कलाकारसँगै नयाँ पुस्ताका प्रतिभाले पनि स्थान बनाएका छन् । यसले नेपाली फिल्ममा पुस्तान्तरणको संकेत दिएको छ ।

३.प्राविधिक विधामा पनि कडा प्रतिस्पर्धा

छायांकन, सम्पादन, पटकथा, पार्श्व संगीत, नृत्य निर्देशन तथा द्वन्द निर्देशनजस्ता विधामा पनि अनुभवी तथा नयाँ प्राविधिकबीच रोचक प्रतिस्पर्धा देखिएको छ । यसले नेपाली फिल्मको प्राविधिक स्तर उकासिँदै गएको संकेत गर्छ ।

४. विविध विषयवस्तुका फिल्मको प्रतिनिधित्व

यस वर्ष सामाजिक कथा, पारिवारिक सम्बन्ध, प्रेमकथा, एक्सन र ग्रामीण परिवेशमा आधारित फिल्मले समान रूपमा मनोनयनमा स्थान बनाएका छन् । एउटै शैलीका फिल्मको वर्चस्व नभई विविध कथाले स्थान पाउनु उल्लेखनीय पक्ष हो ।

५. पहिलो पटक नेपालमा आयोजना हुँदै ईन्फा

पहिलो तथा दोस्रो संस्करण बेलायतमा सम्पन्न भएको ईन्फा अवार्ड यस वर्ष पहिलो पटक नेपालमै आयोजना हुँदैछ । त्यसैले यसपटक कलाकार, निर्माता, दर्शक र फिल्मकर्मीको उत्साह विगतका संस्करणभन्दा बढी देखिएको छ ।

को बन्लान् उत्कृष्ट अभिनेता–अभिनेत्री ? प्रारम्भिक विश्लेषण

ईन्फा अवार्ड–२०२६ को उत्कृष्ट अभिनेता तथा अभिनेत्री विधा यस वर्ष सबैभन्दा धेरै चर्चा हुने प्रतिस्पर्धामध्ये एक बनेको छ । पाँच–पाँच कलाकार मनोनयनमा परेपछि अवार्ड कसको पोल्टामा पर्ला भन्ने उत्सुकता बढेको छ ।

उत्कृष्ट अभिनेता विधामा अनमोल केसी (जेरीः अन टप), नाजिर हुसेन (गुन्यु चोलो), नीर शाह (परान), पल शाह (आ बाट आमा) र विपिन कार्की (ऊनको स्विटर) प्रतिस्पर्धामा छन् ।

यी पाँचै कलाकारले आ–आफ्ना फिल्ममा फरक प्रकृतिका पात्र निर्वाह गरेका छन् । कसैले व्यावसायिक चलचित्रमार्फत दर्शकको मन जितेका छन् भने कसैले गम्भीर र भावनात्मक अभिनयबाट प्रशंसा बटुलेका छन् । त्यसैले यस विधामा स्पष्ट रूपमा कुनै एक कलाकारलाई अगाडि राख्न सहज देखिँदैन ।

उत्कृष्ट अभिनेत्री विधामा आना शर्मा, जसिता गुरुङ, मिरुना मगर, रिश्मा गुरुङ र सुरक्षा पन्त मनोनयनमा छन् । पाँचै कलाकारले फरक–फरक शैलीका भूमिकामार्फत आफ्नो अभिनय क्षमता प्रमाणित गरेका कारण प्रतिस्पर्धा निकै रोमाञ्चक बनेको छ ।

फिल्म विश्लेषकहरूका अनुसार यस वर्षको अवार्डमा लोकप्रियता मात्र होइन, पात्रको गहिराइ, अभिनयको स्वाभाविकता, कथामा कलाकारको प्रभाव र समग्र प्रस्तुति निर्णायक बन्न सक्छ ।

यद्यपि, अन्तिम निर्णय निर्णायक मण्डल ९वरिष्ठ अभिनेता हरिहर शर्मा, वरिष्ठ अभिनेत्री गौरी मल्ल, वरिष्ठ निर्देशक तथा कलाकार रमेश बुढाथोकी तथा वरिष्ठ सम्पादक एवं गीतकार करुण थापा० को अंक प्रणालीबाट हुने भएकाले अहिले गरिएका सबै अनुमान साउन ३० गते हुने अवार्ड समारोहपछि मात्र पुष्टि हुनेछन् । त्यसैले अहिलेका लागि फिल्मप्रेमी तथा उद्योगको चासो एउटै प्रश्नमा केन्द्रित छ—यस वर्षको उत्कृष्ट अभिनेता र उत्कृष्ट अभिनेत्रीको ट्रफी कसले उचाल्ला रु

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti