‘ल्याङ्ग ल्याङ्ग’को मुख्य भूमिकामा जीवन जंग बस्न्यात ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य भूमिकामा जीवन जंग बस्न्यात

सिनेमा ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य भूमिकामा कलाकार जीवन जंग बस्न्यात अनुबन्धित भएका छन् । सिनेमाका निर्देशक बलिराम चौहान र बस्न्यातबीच कागजी सम्झौंता भएको छ ।

बस्न्यात यही सिनेमामार्फत् पहिलोपटक मुख्य भूमिकामा देखिन लागेका हुन् । त्यसैले उनले ‘ल्याङ्ग ल्याङ्ग’ लाई आफ्नो करियरको महत्त्वपूर्ण मोडका रूपमा लिएका छन् ।

यसअघि उनले सिनेमा ‘रमिताको पिरती’ मा छोटो भूमिका निर्वाह गरेका थिए । छोटो उपस्थितिमै उनको अभिनयले दर्शकको ध्यान तान्न सफल भएको थियो भने उनले पात्रले पनि सकारात्मक राम्रो प्रतिक्रिया पाएको थियो । साथै, हिमालयन टेलिभिजनको चर्चित कार्यक्रम ‘कठघरा’ मा ‘रक्षक’को भूमिकामा समेत दखिएका थिए ।

सुनसरीको कालाबञ्जर निवासी बस्न्यात लामो समयदेखि रंगमञ्च, सर्ट सिनेमा, म्युजिक भिडियो र टेलिभिजनमार्फत अभिनयमा सक्रिय छन् । १२ वर्षको उमेरमै नाटक ‘कलालय इटहरी’ मार्फत उनले रंगमञ्च यात्रा सुरु गरेका थिए । त्यसयता बस्न्यातले हालसम्म दर्जनौँ नाटक, २०० भन्दा बढी सर्ट सिनेमा, दर्जनौँ म्युजिक भिडियो तथा टेलिभिजन विज्ञापनमा अभिनय गरिसकेका छन् । यसबाहेक फेसबुक, इन्स्टाग्राम र टिकटकमा अभिनयप्रधान भिडियोमार्फत पनि उनी दर्शकमाझ लोकप्रिय छन् ।

त्यसो त, उनको अभिनय यात्रा भने सहज थिएन । आर्थिक अभावका कारण कुनै समय उनीसँग कोठाभाडासमेत तिर्ने अवस्था थिएन । त्यही संघर्षका बीच उनले अभिनेता अनमोल केसी अभिनीत सिनेमा ‘फर्की फर्की’ र ‘सानो संसार’, साथै गायक सुजन चापागाईंको चर्चित गीत ‘फुलथुङ्गे रानी’ मा ब्याकग्राउन्ड आर्टिस्ट (एक्स्ट्राज) का रूपमा काम गरेका थिए । अध्ययनकै क्रममा राति पठाओ फुड डेलिभरी गर्दै उनले आफ्नो अभिनय यात्रालाई निरन्तरता दिएका थिए ।

अभिनयप्रतिको लगावलाई शैक्षिक रूपमा पनि अघि बढाउँदै उनले ओस्कार अन्तर्राष्ट्रिय कलेजबाट फिल्म अध्ययनमा स्नातक (अभिनय मुख्य विषय) पूरा गरे । हाल उनी फिल्म स्टडीजमै स्नातकोत्तर अध्ययनको तयारीमा छन् ।

वर्षौंको मिहिनेत, निरन्तर संघर्ष र अभिनयप्रतिको समर्पणपछि अब उनी ‘ल्याङ्ग ल्याङ्ग’मार्फत नयाँ परिचय स्थापित गर्ने तयारीमा छन् । निर्माण टिमले पनि उनको अभिनय क्षमताले सिनेमालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।

स्काई फल पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको सिनेमामा भोलानाथ कटवालको लगानीमा बन्नेछ । यसअघि सिनेमामा रिहान गिरी र सन्तोष बानियाँ अनुबन्धित भइसकेका छन् । सिनेमामा मुख्य अभिनेत्रीको खोजी भइरहेको निर्देशक चौहानले बताए । सिनेमाको कथा निर्देशक चौहान र उपाश्री खतिवडाले तयार पारेका हुन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti