यसवर्ष मिस नेपालले केही मामिलामा इतिहास रच्यो । अनुष्का श्रेष्ठ पहिलो मिस नेपाल सांसद बनिन् । उनले संसदमा कला र उद्यमशिलताका मुद्दा उठाइरहेकी छन् ।

एनआरएनएमार्फत डायस्पोराको दोस्रो पुस्तालाई देशसँग जोड्न लागिपरेकी २४ वर्षिया यी सुन्दरी अब यो मुद्दालाई ‘मिस नेपाल’को प्लाटफर्मबाट अघि बढाउन चाहन्छिन् । डायस्पोरालाई नेपालसँग जोड्ने अर्जुनदृष्टि बोकेरै प्रतिस्पर्धामा उत्रिएको बताउने उनी नेपाल फर्किएर काम गर्न दोस्रो पुस्तालाई सन्देश दिन चाहन्छिन् ।
मिस नेपालको यो पटकथामा दीपमाला ढकालले यसैसाता फरक अध्याय लेखिन् । हङकङमा जन्मे, हुर्केकी उनी मिस नेपाल बन्ने पहिलो गैरआवासीय नेपाली हुन् । उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) को वर्तमान कार्यसमितिमा हङकङबाट ‘दोस्रो पुस्ताकी संयोजक’ हुन् ।
‘दोस्रो पुस्ताका एनआरएनलाई प्रेरित गर्नुछ । हामी बाहिर जन्मिए, बाहिर हुर्किएपनि देशमा आएर हामीले आफ्नो ठाउँ बनाउन पनि सक्छौं र देशलाई केही दिन पनि सक्छौं भनेर त्यो पनि देखाउन मन थियो’ मिस नेपालमा भाग लिनुको उद्देश्यबारे उनी सुनिइन्, ‘दोस्रो पुस्ता नेपाल आएर केही गर्न सकिन्छ र गर्नु पनि पर्छ भनेर आएकी हुँ ।’
मिस नेपाल भएपछि उनी क्यान्सर सचेतनासम्बन्धी एक अभियानमार्फत देश र डायस्पोरालाई जोड्न चाहन्छिन् । नेपाल क्यान्सर अस्पतालको दूतको रुपमा उनले यो अभियान अघि बढाएकी छिन् । हालै वीरगञ्जमा पुगेर दीपमालाको टिमले क्यान्सर परीक्षण सम्बन्ध कार्यक्रम गर्यो ।
क्यान्सरकै कारण, भाइ नाता पर्नेको निधनपछि दीपमाला अझै डटेर यो प्रोजेक्टमा लागिपर्ने निधोमा पुगिन् । यसबारे हालै हङकङमा आयोजित एकदिने च्यारिटी पदयात्राबाट ६ लाख रुपैयाँ उठाइन् । उनको यो प्रोजेक्ट ‘मिस नेपाल’मा ब्यूटी विथ पर्पस विधा पनि जित्यो ।
देशबाहिर गएपछि देशको माया छैन र मद्दत गर्दैनन् भनेर लागिरहने आरोपको पनि उनी खण्डन गर्न चाहन्छिन् । ‘मद्दत पनि गर्दैनन् भनेर धेरैजनाले यो कुरा भनिराख्नुहुन्छ । जुन चाहिँ एकदम गलत कुरा हो’ उनी सुनिइन् ।
क्यान्सर सचेतनासम्बन्धी यो प्रोजेक्टमा नेपालमात्र नभएर डायस्पोरालाई पनि सहभागी गराउने संकल्प उनको छ । ‘यो मेरो मात्र प्रोजेक्ट हुँदैन । पूरै नेपाली डायस्पोराको प्रोजेक्ट हुन्छ । सबैजना मिलेर नेपालको लागि केही गरुम, नेपाली कम्युनिटीलाई केही सहयोग पुर्याउँ भनेर अगाडि पुर्याउन पनि मन लाग्या छ’ उनी भन्छिन् ।
मिस नेपाल भएपनि यो मञ्चमा बोलेको कुरा धेरैले सुन्ने भएकाले राम्रोसँग चलाउने उनको भनाइ छ । ‘मेरो फोकस नै यो स्पटलाइटमार्फत क्यान्सर चेतनालाई ठूलो ढंगले अघि बढाउनुु हुनेछ’ उनले भनिन् ।
अब यो प्रोजेक्टलाई सन् २०२७ मा तान्जानियामा आयोजना हुने ‘मिस वर्ल्ड’मा पनि ब्युटी विथ पर्पसमा प्रस्तुत गर्ने उनको तयारी छ । ‘मेरा लागि यो अन्तर्राष्ट्रिय प्रोजेक्टजस्तै थियो । मैले यो जितमार्फत हङकङस्थित नेपाली समुदायलाई मात्र नभएर पूरै एनआरएन समुदायलाई पनि खुसी तुल्याउन सकेँ’ अनलाइनखबरसँगको कुराकानीमा उनले भनिन् ।
मिस नेपालको ताजमार्फत देशलाई विदेशसम्म चिनाउने मौका आएको उनी बताउँछिन् । ‘त्यसकारण, यो ताज चाहिँ मेरो लागि म साँच्चिकै नेपालको प्रतिनिधित्व गर्न सक्ने छोरी भएको छु भन्ने कुरामा एकदमै गर्व लाग्छ’ भन्छिन्, ‘मैले पनि यो क्राउनलाई भ्यालु दिनुपर्यो । मुख्य उद्देश्य भनेको- मिस वर्ल्डमा गएर राम्रोसँग सहभागिता जनाएर खाली हात फिर्ता नआउने नै हो ।’
यसबाहेक दीपमालासँग आमाको विरासत पनि जोडिएको छ । आमा रोशनीले १७ नम्बरको स्यासबाटै सन् १९९४ को मिस नेपालमा प्रतिस्पर्धा गरेकी थिइन् । संयोग भनौं, छोरी दीपमालाले १७ नम्बरको स्यासबाटै उपाधि जितिन् । यो क्षण उनका लागि आमाको अधुरो धोको पूरा गर्ने र सहभागिताको विरासतलाई अघि बढाउने अवसर पनि थियो ।
दीपमाला हङकङमा जन्मिइन् र हङकङमा हुर्किइन् । बच्चैदेखि उनले एउटै प्रश्नको सामना गर्नुपर्यो, जसले उनलाई तनाव पनि दिइरह्यो । ‘म हङकङ हुँदाखेरी कताको छौ भनेर सोध्नुहुन्थ्यो । नेपाल आउँदाखेरी एउटै प्रश्न आउँथ्यो’ उनले सुस्केरा सुनाइन्, ‘जीवनभरि नै मैले नेपाली हुँ भनेर प्रमाणित गर्दा खेरी अहिले चाहिँ नेपालले मलाई छान्यो भनेर त्यो फिलिङ आएको छ ।’

त्यो कन्फिडेन्स उनको मुहारमा स्पष्ट देखिन्छ । हुनसक्छ, यही कारण दीपमालाले मिस नेपाल वर्ल्डको उपाधि मात्र जितिनन्, ४ वटा सहविधा जितेर मिस नेपालमा अर्को रेकर्ड पनि रचिन् ।

