रघुजी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको नेपाली कथानक चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ को छायांकन तेश्रो सातामा प्रवेश गरेको छ। लेखक तथा निर्देशक अमरदीप सापकोटा को निर्देशनमा निर्माण भइरहेको यो चलचित्र कमेडी जनरामा आधारित छ।
लामो समयदेखि चलचित्र पत्रकारितामा सक्रिय रघुनाथ सापकोटाको लगानी रहेको यस चलचित्रको छायांकन काठमाडौं उपत्यका तथा आसपासका विभिन्न स्थानमा भइरहेको छ। नेपाली चलचित्र उद्योगमा नयाँपन प्रस्तुत गर्दै आफ्नै छुट्टै ब्रान्ड स्थापित गर्ने उद्देश्यका साथ रघुजी फिल्म्सले दीर्घकालीन योजना अघि बढाएको निर्माण पक्षले जनाएको छ। निर्माता सापकोटाका अनुसार यस चलचित्रको छायांकन सम्पन्न हुनेबित्तिकै यसअघि नै घोषणा गरिएको अर्को चलचित्रको निर्माण प्रक्रिया सुरु गरिनेछ।
‘तीन तीघ्रे क्या बिग्रे’ मार्फत पाँच प्रतिभावान कलाकारले नेपाली चलचित्रमा डेब्यु गर्दैछन्। नेपाली लोकसंगीतमा आफ्नो छुट्टै पहिचान बनाएका लोकप्रिय गायक पशुपति शर्माले यसै चलचित्रमार्फत पहिलोपटक ठूलो पर्दामा अभिनय यात्रा सुरु गरेका छन्।
त्यस्तै, कमेडी च्याम्पियनमार्फत विभिन्न पात्रहरूको उत्कृष्ट नक्कल प्रस्तुत गर्दै दर्शकमाझ लोकप्रिय बनेका प्रभात लामा, गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्त, टेलिचलचित्रमार्फत आफ्नो अलग पहिचान बनाएकी समिया कार्की, तथा कमेडी सिरियलमार्फत चर्चित बेगम नेपाली पनि यस चलचित्रबाट प्रमुख भूमिकामा डेब्यु गर्दैछन्।
नेपाली चलचित्रमा बारम्बार देखिने एउटै अनुहारभन्दा फरक कलाकारहरूको संयोजन र नयाँ कथावस्तुका कारण चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ ले अहिलेबाटै दर्शक र चलचित्रकर्मीबीच चासो बटुल्न थालेको छ। यी पाँच कलाकारका अतिरिक्त चलचित्रमा अन्य धेरै अनुभवी तथा नयाँ कलाकारहरूको पनि अभिनय रहनेछ।
चलचित्रको छायांकनको जिम्मेवारी सिनेमाटोग्राफर संकल भुजेलले सम्हालेका छन्। निरज नेपाल कार्यकारी निर्माता रहेको चलचित्रमा सगुन तामाङ मुख्य सहायक निर्देशक छन् भने उत्सव पौडेल, सबिता रेग्मी र धर्मेन्द्र केसी सहायक निर्देशकका रूपमा रहेका छन्। त्यसैगरी गणेश बानियाँ आर्ट निर्देशक, शमशेर लामा मेकअप प्रमुख तथा जीवन पोखरेल भेषभूषा प्रमुखको जिम्मेवारीमा छन्।
चलचित्रमा पशुपति शर्मा, परितोषिका पन्त, समिया कार्की, प्रभात लामा, पृथ्वीराज प्रसाईं, सृजना कोइराला, प्रजल दुलाल, गौतम महत, निरज नेपाल, लेखान्त भुषाल, बिरबल घले, सुनिल कटुवाल, निशान थापा, रविन बिमली, नारायण बिक, विनोद केसी, लीसा क्षेत्री, सुरेश तिमल्सिना, राजु तिमल्सिना, रमेश बुढाथोकी आयुष्मा गिरी तथा पवन खतिवडा ‘बाबा’ लगायतका कलाकारहरूको अभिनय रहनेछ।
चलचित्रको वितरण अधिकार आरआर फिल्म्सले लिएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलले प्राप्त गरेको छ।

