अनलाइनखबरको ‘४० मुनिका ४०’ सूचीमा समावेश भएपछि अभिनेत्री स्वस्तिमा खड्काले आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट अवार्ड ग्रहण गरिन् ।

‘मैले गरिरहेको काम सही दिशामा छ कि छैन, मैले गर्ने छनोटहरू सही छन् कि छैनन्, अब यी प्रश्नहरू आफैंलाई अझ बढी सोध्नुपर्ने महसुस भएको छ’ स्वस्तिमा भन्छिन्, ‘किनकि अब मेरा छनोटहरू केवल मेरा लागि मात्र नभएर, कुनै न कुनै रूपमा समाजप्रति पनि जिम्मेवार छन् भन्ने बोध हुन्छ ।’
अवार्ड लिएपछि स्वस्तिमाले सामाजिक संजालबाट उत्साह व्यक्त गरेकी छन् । राष्ट्रपति पौडेलको हातबाट सम्मान ग्रहण गर्न पाउनु आफ्ना लागि विशेष क्षण रहेको उल्लेख गर्दै उनले यस्तो सम्मान र मान्यताले खुसीसँगै आफूलाई जिम्मेवारी बोध महसुस गराएको पनि उल्लेख गरेकी छन् ।
नेपाली फिल्ममा व्यावसायिक र कलात्मक फिल्ममा सन्तुलन मिलाउन सकेको, आफ्नो कर्मबाट समाज र युवालाई प्रेरित गर्न सकेको र नेपाली फिल्ममा रहेको असमान पारिश्रमिक मुद्दालाई मुखरित तुल्याउन सकेको भन्दै अनलाइनखबरले स्वस्तिमालाई अवार्ड प्रदान गरिएको जनाएको छ ।
बाँकी समयमा अझै धेरै सिक्न र जिम्मेवारी छनोट गर्न सकूँ भन्ने संकल्प उनको छ । ‘४० पुग्न त अझै धेरै वसन्तहरू बाँकी छन् । ती बाँकी वसन्तहरूमा अझ धेरै सिक्न, अझ जिम्मेवार छनोटहरू गर्न र यस्ता कामहरू गर्न सकूँ, जसको अर्थ समयसँगै अझ गहिरो हुँदै जाओस्’ उनी लेख्छिन्, ‘ताकि ६०-७० वर्षको उमेरमा फर्केर हेर्दा, आज पाएको यो सम्मान र मान्यताप्रति साँच्चिकै गौरवान्वित हुन सकूँ ।’
स्वस्तिमा अभिनित ‘लालीबजार’ हालै प्रदर्शनमा आएको थियो जसले व्यावसायिक र समीक्षात्मक दुवै पक्षबाट आफूलाई स्थापित तुल्याउन सक्यो । यसबाहेक उनले बुलबुल, चिसो मान्छे, दिमाग खराबजस्ता प्रशंसनीय फिल्म पनि दर्शकलाई दिएकी छन् ।

