प्रकाश दूतराजले बनाए पहिलो लोकसंगीत ‘ब्यान्ड’ प्रकाश दूतराजले बनाए पहिलो लोकसंगीत ‘ब्यान्ड’

लोकगायक प्रकाश दूतराज नयाँ शैलीसहित अघि बढ्ने भएका छन् । उनले नेपाली लोकसंगीत क्षेत्रकै पहिलो ब्यान्ड गठन गरेका छन् र औपचारिक घोषणा गृहजिल्ला म्याग्दीबाट हुनेछ ।

लोकदोहोरी जनरामा सांगीतिक समूह गठनको पहिलो अभ्यास भएकाले यसको नतिजा भविष्यमा के हुन्छ भनेर अहिल्यै भन्न नसकिने दूतराज बताउँछन् ।

जनैपूर्णिमा अवसरमा १२ भदौमा बेनीमा आयोजना हुने कार्यक्रमबाट उनको सांगीतिक समूह ‘प्रकाश दूतराज एन्ड लाइनअप’ को औपचारिक घोषणा हुनेछ । म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको कार्यक्रममा ब्यान्डले पहिलो सांगीतिक प्रस्तुति दिनेछ ।

ब्यान्ड घोषणा गर्न किन बेनी नै ? उनको जवाफ छ- उद्योग वाणिज्य संघले पहिलोपटक स्टेजमा गाउने अवसर दिनुभएको थियो । यो पनि जिन्दगीको नयाँ अध्याय भएकाले आशीर्वाद लिनको लागि त्यहाँबाट घोषणा हुन लागेको हो ।’

दूतराज यो ब्यान्डका मुख्य गायक (लिड भोकलिस्ट) हुन् भने ध्वनि प्राविधिक र बाद्यवादकसहित ब्यान्डका सदस्य संख्या ११ छ । लोकसंगीतसहित विभिन्न सांगीतक विधाका वाद्यवादक मिलेर यो ब्यान्ड गठन भएको हो ।

लोकसंगीत क्षेत्रमा ब्यान्डसहित एकल साँझ कार्यक्रम हुँदै आएपनि ब्यान्डसहित कन्सर्ट गर्ने कुरा पहिलोपटक हुन लागेको दूतराज बताउँछन् । ‘अहिलेसम्म कन्सर्टमा पनि ट्रयाकमा गाउँदै आएका छौं । अब नेपाली मौलिक बाजा, लोकसंगीत र लोकबाजामा पनि प्रयोग गर्न खोजेका हौं’ दूतराजले भने ।

बेनीमा पहिलोपटक प्रस्तुति दिएपछि चाँडै ब्यान्डको नेपाल टूर घोषणा हुने प्रकाशले बताए । निकट भविष्यमा अन्तर्राष्ट्रिय टूरको पनि आयोजना हुने प्रकाशले बताए ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti