१ भदौ, काठमाडौं । संगीतज्ञ र कविका रुपमा दुर्गालाल श्रेष्ठको कद अग्लो छ । पञ्चायतविरुद्धको लडाइँमा उनले नेपाली साहित्य र संगीतमा बलिया र मर्मस्पर्शी काव्य र गीत पस्किए ।
नेपाल भाषा परिषदले दुई दशक अगाडि उनलाई ‘जनकवि’को उपाधिबाट सम्मानित गरेको थियो । नेपाल भाषामा उनका एक दर्जन भन्दा बढी कृति प्रकाशित छन् ।
उनै जनकवि श्रेष्ठले ९३ वर्षको उमेरमा आइतबार राति बूढानीलकण्ठस्थित निवासमा अन्तिम सास लिए । पुर्ख्यौली घर ठमेलमा भए पनि पछिल्लो समय उनी छोराको सुमनको बूढानीलकण्ठस्थित निवासमा बस्दै आएका थिए ।
पछिल्लो ५ वर्षयता उनी बिरामी थिए । पछिल्लो छ दशकदेखि लगातार साहित्य सिर्जनामा लागेका श्रेष्ठले नेपाल भाषासहित नेपालीमा पनि कविता र गीतसँग अन्य विधामा पनि कलम चलाएका छन् ।
उनले धेरै कालजयी, मर्मस्पर्शी र विश्वप्रसिद्ध गीत पस्किए । उनको गीत ‘झे मासिनी’ (हामी अझै मरेका छैनौं) नेपाल भाषा आन्दोलनको सबैभन्दा शक्तिशाली गीतमध्ये एक मानिन्छ । उनका लोकप्रिय गीतमध्ये ‘फूलको आँखामा, फूलै संसार’ हो, जसमा न्ह्यू बज्राचार्यको संगीत र आनी छोइङ डोल्माको स्वर छ ।
यो गीत एल्बम ‘मोमेन्ट्स अफ ब्लिस’मा समावेश छ, जसमा सबै गीतहरू श्रेष्ठले लेखेका थिए । ‘फूलको आँखा फूलै संसार’ त नेपाली भाषाभन्दा पर पनि रुचाइएको गीतमध्ये पर्छ । यसले बोकेको विश्वब्यापी अपिलिङ, मिठास, भाव र आध्यात्मिक चेतना यो गीतको सुन्दर पक्ष हो । यो गीतको शक्ति मूलत: दुर्गालालका सरल शब्दभित्र रहेको गहिरो जीवनदर्शनमा छ ।
बागबजारस्थित मोडल अस्पताल स्थापनामा यी दुईले सहकार्य पनि गरे । दुर्गालालसँग आफ्नो ४० वर्षदेखि चिनजान रहेको र संगत गर्दा असल काव्यमन भएको स्रष्टा भएको हरिवंश सम्झन्छिन् ।
दुर्गालाल श्रेष्ठका गीत, कविता र अन्य साहित्यिक कृतिको मुख्य विशेषता सरल शब्दभित्र गहिरो दर्शन र मानवीय संवेदना व्यक्त गर्न सक्ने क्षमता हो । उनको सिर्जनालाई केही प्रमुख विशेषताबाट बुझ्न सकिन्छ ।
हरिवंश आचार्यको फिल्म ‘१५ गते’का लागि उनले ‘सय थरी बाजा एउटै चाल’ गीत लेखेका थिए । हरिवंशले दुर्गालाललाई गीत लेख्न भनेको क्षण सम्झिँदै सम्झिए, ‘फिल्ममा गीत चाहियो भनेर भन्न हामी उहाँकै घरमा गएका थियौं । उहाँले २–३ दिनपछि लिन आउन भन्नुभयो । गयौं र सुन्यौं । फिल्ममा खोजेको जस्तै गीत बनाइदिनुभयो ।’
आफ्नो टेलिसिरियल ‘लक्ष्मी’को लागि पनि श्रेष्ठले ‘प्यास, अहो पैसाको प्यास’ गीत लेखिदिएको स्मरण हरिवंशले गरे । आफ्ना दुई फिल्ममा सुन्दर सिर्जना दुर्गालालले कोरिदिएको हरिवंश सम्झन्छन् ।
साथै, दुर्गालालले लेखेका २ नेपालभाषाका गीत पनि हरिवंशले गाएका छन् । दुर्गालालका छोरा सुमन र हरिवंश हितैषी पनि हुन् ।
श्रेष्ठ मूलत: कवि भएकाले उनका गीतमा काव्यात्मकता बलियो छ । शब्दको लय, भाव, प्रतीक र बिम्बले संगीतसँग सहज सम्बन्ध स्थापित गर्छन् । त्यसैले उनका गीत पढ्दा कविता र सुन्दा संगीत दुवैको अनुभूति हुन्छ ।
फूल, काँडा, संसार, प्रकृति र दैनिक जीवनका सामान्य वस्तुलाई उनले व्यापक मानवीय अर्थ दिने प्रतीकका रूपमा प्रयोग गरेका छन् । सामान्य बिम्बबाट गहिरो दर्शन व्यक्त गर्नु उनको महत्वपूर्ण सिर्जनात्मक विशेषता हो ।



