नेताको कमेडीपछि अमरेन्द्रलाई धम्की, सूर्य थापा भन्छन्– ‘रोस्ट सामना गर्छु’ नेताको कमेडीपछि अमरेन्द्रलाई धम्की, सूर्य थापा भन्छन्– ‘रोस्ट सामना गर्छु’

 कमेडियन अमरेन्द्र यादवले टिभी शो ‘कमेडी बाज’ मा व्यंग्य प्रस्तुति दिँदा आफूलाई मार्ने धम्की र गाली आएको बताएका छन् । सामाजिक सञ्जालबाट उनले कमेडीलाई कमेडीको रुपमा बुझ्न र व्यक्तिगत गालीगलौजमा नउत्रन आग्रह गरेका छन् ।

उनी लेख्छन्, ‘पछिल्ला ३/४ दिनदेखि भिडियो सार्वजनिक भएदेखि नै म निरन्तर मानसिक दबाब र व्यक्तिगत गालीगलौज झेलिरहेको छु । यो कसले गरिरहेको हो, नेकपा एमालेका कार्यकर्ता हु

न् कि अरू कोही हुन् ? म यकिनका साथ भन्न सक्दिनँ । तर मलाई व्यक्तिगत रूपमा गाली गर्ने र टर्चर दिने काम भइरहेको छ ।’

मंगलबार युट्युबमा आएको शोको १५ औं एपिसोडमा एमाले नेता सूर्य थापा र अर्का नेता मुकुल ढकाल गेस्ट बनेर पुगेका थिए । उक्त शोमा यादवले केपी ओलीसहितका एमाले नेताहरूलाई व्यंग्य गरेका थिए ।

उक्त एपिसोडको टिजर केही दिनअघि नै रिलिज भएको थियो । टिजर सार्वजनिक भएदेखि आफूले निरन्तर मानसिक दबाब र व्यक्तिगत गालीगलौज झेलिरहेको यादवले बताएका छन् ।

उनले प्रश्न गरेका छन्, ‘एउटा कलाकारले रोस्ट गर्छ भन्ने कुरा सबैलाई थाहा हुन्छ । कार्यक्रममा गेस्ट आउँदा पनि उहाँहरूलाई यहाँ रोस्ट हुन सक्छ भन्ने कुरा थाहा हुन्छ, त्यसैअनुसार सहभागी हुनुहुन्छ । त्यसो भए मैले रोस्ट गरेको कुरामा मैले यति ठूलो गल्ती गरेँ ?’

उनले भनेका छन्, ‘मेरो पेसा नै कमेडी हो, र कमेडीको एउटा हिस्सा रोस्ट पनि हो । त्यसैले मैले गरेको रोस्टलाई कृपया कमेडी र मनोरञ्जनको रूपमा सामान्य रूपमा लिनुहोस् ।’

लगातारको धम्कीपछि आफू कोठाभन्दा बाहिर नगएको उनले बताएका छन् । ‘कहिलेसम्म रुममा बस्ने म ?’ उनले लेखेका छन् ।

यादवले धम्की आएको कुरा सामाजिक सञ्जालमा लेखेपछि एमाले नेता सूर्य थापाले फेसबुकबाट उक्त एपिसोडको युट्यूब भिडियो सेयर गर्दै यादवले धम्की आएको भनेर स्टाटस लेखेपछि आफू आश्चर्यमा परेको बताएका छन् ।

थापा लेख्छन्, ‘धेरै पटक सम्पर्क र अनुरोध गरेकोमा सुन्दर खनाल भाइले मसँग भेटेरै छलफल गरेपछि मात्रै म अतिथिका रूपमा उपस्थित हुन सहमत भएको थिएँ । म आफूलाई यस्ता कार्यक्रममा खासै रूचि नराख्ने मान्छेका रूपमा बुझ्दछु । कार्यक्रम प्रशारण भएपछि अमरेन्द्र यादवले धम्की आएको भनेर लामो स्टाटस लेखेको देख्दा आश्चर्य लागेको छ । चर्चामा आउन मच्चाएको फण्डा पक्कै होइन होला ।’

यादवले आफूमाथि गालीगलौज गर्ने निशाना गेस्ट भएर आएका नेता र तिनको पार्टीतिर सोझाएका छन् । उनले नेकपा एमालेको नामै लिएर आफूलाई एमाले विरोधी भनिएको बताएका छन् । तर, आफू स्वतन्त्र व्यक्ति भएको उनको भनाइ छ ।

नेता थापाले आफू रोस्ट पचाउन सक्ने क्षमता भएको मान्छे भएको बताएका छन् । ‘म जुनसुकै प्रश्न र रोस्ट सुन्न र सामना गर्न सक्ने दम भएको मान्छे हो । जानीबुझी त्यहाँ जानु भनेको रोस्ट, टोस्ट र होस्ट सबै स्वीकार गरेर नै हो । म र मेरा समर्थकले यस्तो कार्यक्रम मज्जासँग सुन्न र सहज रूपमा लिनसक्ने सामथ्र्य राख्दछौं’ थापा लेख्छन्, ‘यद्यपि यस्ता कार्यक्रम सन्देशमुलक नभएर सस्ता बन्नु र अनावश्यक उडान भर्न रमाउनु उचित होइन ।’

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti