‘गौंथली’को दबदबा, ‘पूर्ण बहादुर सारङ्गी’को कीर्तिमान नजिक ‘गौंथली’को दबदबा, ‘पूर्ण बहादुर सारङ्गी’को कीर्तिमान नजिक

बक्स अफिसमा उत्साहजनक प्रदर्शन गरिरहेको गौंथली यसबेला पूर्ण बहादुर सारङ्गीको कीर्तिमान तोड्ने दिशामा छ । भलै यसको निर्क्यौल समयले गर्छ ।

उनी अवकास पाउन लागेका शिक्षक हुन् । आजसम्म उनले पढाइरहेको विद्यालयमा कोही छोरी मान्छेले एसएलसी उत्तीर्ण गरेका हुँदैनन् । यो कुरा विद्यार्थीहरूलाई सुनाइरहँदा कक्षा ८ की विद्यार्थी गौंथली भण्डारी बडो उत्साहित हुन्छिन् । र, आफूले एलएससी उत्तीर्ण गरेर सरको इच्छा पूरा गर्ने अठोट लिन्छिन् ।

बक्स अफिसमा राम्रो गरिरहेको यो सिनेमा खासमा कस्तो छ त ? यसले के भन्न खोजेको छ ? निर्देशक डा. कपिल रिजालले के देखाउन खोजेका छन् ? त्यसमा उनी कति सफल भए ? प्राविधिक रूपमा यो सिनेमा कति बलियो छ ? यिनै प्रश्नको उत्तर यो लेखमा खोतल्ने प्रयास गरिनेछ ।

मदनकृष्ण श्रेष्ठले न्यारेट गरेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको उडी छुनु चन्द्र एक कविताबाट सिनेमा सुरु हुन्छ । उनी स्कुलमा नेपाली विषय पढाउने मदन सरको भूमिकामा छन् । उनले विद्यार्थीहरूलाई सो कविता कक्षाकोठामाा सुनाइरहेका हुन्छन् ।

सिनेमाको सबैभन्दा राम्रो पाटो यसले नेपाली समाजको एउटा ठूलो समस्यालाई टिप्नु हो । जुन घर झगडा हो । सासु बुहारीको मतभिन्नता हो । श्रीमान–श्रीमतीको झगडा र ‍यसबीचको माया हो । गाउँलेहरूको दोहोरो चरित्र हो । सम्भवत: दर्शकहरूलाई यस्तै कुराले आकर्षित गरेको हो । सिनेमाको सफलताको कारण पनि यही हो ।

समग्रमा नेपाली समाजका धेरै महिलाले भोगेका कुरालाई ठूलो पर्दामार्फत उतार्न प्रयास गर्नु सकारात्मक हो । तर, सिनेमा टेलिसिरियलभन्दा केही बढी हो भन्ने सोचेर काम गरिएको भए यो एउटा उत्कृष्ट सिनेमा बन्न सक्थ्यो।

अन्तमा, यदि कसैले गौंथली हेर्न छुटाएको छ भने ग्लानीबोध गरिरहन पर्दैन, दशकौंदेखि धेरै सिनेमा, टेलिसिरियलहरूमा देख्दै आएको भन्दा अतिरिक्त कुरा यहाँ पाइँदैन ।

यो सिनेमाको अधिकांश दृश्यहरू दिनको उज्यालोमा खिचिएका छन् । रातका दृश्यहरू पनि राखिएका छन् । रातका दृश्यहरूको तुलनामा दिनको दृश्य कमजोर छ । भनौं, सिनेम्याटिक रूपमा कमजोर छ यो सिनेमा । अझ अनावश्यक ठाउँमा समेत क्लोजअप सटहरू बढी राखिँदा पात्रको मनस्थितिमा रहिरहन गाह्रो पर्छ ।

त्यस्तै केही ठाउँमा अनावश्यक क्यामेरा सटहरू राखिएका छन् भने कतिठाउँमा भिजुअल पनि खास छैन । उदाहरणका लागि, ठूलेले विगत सम्झँदाको फ्ल्यास ब्याकको भिजुअल कुनै सिकारू विद्यार्थीको काम जस्तो मात्रै लाग्छ । यद्यपि कतिपय ठाउँमा सिनेम्याटोग्राफी उत्कृष्ट पनि छ । उदाहरणका लागि, ठूलेले गुलेली हान्दाको दृश्य । तर, यो अनुपात अत्यन्तै कम छ ।

उनीहरूको सम्बन्ध नै दर्शक अडाइराख्ने एउटा माध्यम बनेको छ । ठूले शारीरिक रूपमा दुर्बलता रहेको अटिजम भएको युवक हो । ठूलेको पात्र निर्माणमा निर्देशक डा. रिजालको मेहेनेत त देखिन्छ तर त्यो वास्तविता भन्दा बनावटी बढी लाग्छ । ठूलेको हाउभाउमा मिस्टर बिनको प्रभाव प्रष्टै देखिन्छ ।

गौंथली गाउँ छाडेर शहरको जुन कुनामा पुगेकी छिन् त्यहीँ मदन सर भेटिनु, उनले स्कुलै नगई होटलमा भाँडा माझ्दै पढेर पनि एसएलसीमा नेपाल टप गर्नु, अनि घरबाट भागेको ठूले पनि ठ्याक्कै त्यही ठाउँमा पुग्नु जस्ता संयोगले यो समाजिक यथार्थ भन्दा सिनेमा नै हो है भन्ने अनुभूति दर्शकलाई गराउँछ।

सिनेमाको सबैभन्दा कमजोर पाटो ब्याकग्राउन्ड साउन्ड हो । अनावश्यक हर्ट बिट राख्नु, संवादभन्दा गीतको साउन्ड अनावश्यक ठूलो हुनु, एम्बियन्ट साउन्डहरू अप्राकृतिक सुनिनु आदि यसका उदारहण हुन्।

भनौ न, व्यापारको हिसाबमा गौंथली मज्जाले उडिरहेको छ तर समग्रमा सिनेमाको नजरबाट यो खुलेर उड्न सकेको छैन ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti