मल्टीस्टारर चलचित्र ‘पाँच पाण्डव’ स्वरकन सुरु मल्टीस्टारर चलचित्र ‘पाँच पाण्डव’ स्वरकन सुरु

मल्टी-स्टारकाष्टका कारण चर्चा र प्रतिक्षमा रहेको चलचित्र ‘पाँच पाण्डव’को स्वरकन सुरु गरिएको छ । विहीबार म्युजिक नेपालले सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा ‘पाँच पाण्डव’को स्वरकनको काम सुरु गरिएको हो ।

गौशाला पिंगलास्थानस्थित नेपाल संगीत विद्यालयमा रहेको स्टुडियोमा चलचित्र ‘पाँच पाण्डव’का सम्पूर्ण कास्ट एन्ड क्रूको सहभागिता रहेको थियो । तिहारमा रिलिज हुने चलचित्रको स्वरकनकालागि यस सिनेमाका मुख्य पात्र हरिवंश आचार्यले सुरुवात गरेका छन् ।

निर्माणपक्षले पूरै साउन्डको काम डल्बी एटमसमा गराएसँगै ‘पाँच पाण्डव’ हेर्ने दर्शकले फूल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाउने भएका छन् ।

“हामीले पोस्टको कामसुरु गरेसँगै स्वरकन गर्न थालेका छौं,” पाँच पाण्डवका निर्देशक वसन्त निरौलाले भने, “हामीले कुनै पनि कम्प्रमाइज गरेका छैनौँ । हामी दर्शकलाई साउन्डको फरक टेस्टसहितको प्राविधिक रुपमा पनि अब्बल सिनेमा दिने छौँ, जुन सिनेमामा पनि देखिने र महसुस हुने छ ।”

चार दशकदेखि नेपाली संगीतको क्षेत्रमा सक्रिय कम्पनीले ‘म्युजिक नेपाल’ले गत वर्षको माघदेखि करिब १० करोड रूपैयाँको लगानीमा मुलुकमा पहिलोपटक डल्बी एट्मसद्वारा मान्यताप्राप्त पोस्ट-प्रोडक्सन स्टुडियो सञ्चालनमा ल्याएको छ ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा नेपाली सिने जगतका दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरू एकसाथ देखिनेछन् । हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा छन् । दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, मोडल इभा गिरी, सिता न्यौपाने लगायतको पनि मुख्य भूमिका रहेको छ ।

यो चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठले हुन् । उनले यसअघि गतवर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए । चलचित्रको निर्मातामा काली रानी श्रेष्ठ छिन् ।

‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । यो चलचित्र ‘सोसल ड्रामा’ भएको लेखक पौडेलले स्पष्ट पारेका छन् । उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्वलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।

झापा र काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा खिचिएको यो चलचित्रलाई श्याम तामाङले खिचेका छन् ।

चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन तथा रङग सम्पादन, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको विजिएम, पुकार धिमालको भिएफएक्स, रोहित राज गौतम एचओपी र बिष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन् ।

तिहारमा रिलिज हुने यो सिनेमालाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्नेछ । चलचित्रको नाम, कथा र कास्टका कारण प्रतिक्षित बनेको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti