नीर शाहका गीतसँगै ‘पलेँटी’मा जम्दैछ सांगीतिक माहोल नीर शाहका गीतसँगै ‘पलेँटी’मा जम्दैछ सांगीतिक माहोल

हरेक अंग्रेजी महीनाको अन्तिम शुक्रवार नेपालयको आरशालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम ‘पलेंटी’मा यसपाली गीतकार तथा अभिनेता नीर शाह प्रस्तुत हुने भएका छन् ।

शाहले गैर फिल्मी गीतमा जसरी कलम चलाएका छन् त्यत्तिकै सशक्त ढंगले फिल्मी गीतमा पनि कलम चलाएका छन् । शाहले रचना गरेका फिल्मी गीतमा आँखैमा कसैको तस्वीर बसेछ, जति निर्मल, छोरी मलाई भागी भागी, यो साँझ यो सुवास लगायतका गीत लोकप्रिय छन् ।

कार्यक्रममा शाहद्वारा रचित झण्डै डेढ दर्जन गीतहरू समावेश गरिएका छन्, जसलाई पलेँटीका कण्ठशिल्पी मीना पोखरेल र रुपक चौधरीले गाउने छन् । ‘पलेँटी’ कार्यक्रम आजभन्दा झण्डै २२ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु साङ्गीतिक कार्यक्रम हो ।

उनले रचेका गीतमा ‘पर्खी बसेँ आउला भनी, कहिले काहीँ म हाँस्छु, गहिराईमा डुब्दै नडुब, अधरको मुस्कान त केही होइन, बादल बनाई देऊ, हिउँभन्दा चिसो लगायतका अनेक गीतहरू छन् ।

शाह लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील रहँदै आएका परिचित अभिनेता तथा निर्देशक हुन् । उनको कलाकारितामा गीति सृजनाको पनि महत्वपूर्ण भूमिका छ । शाहले रचना गरेका गीतले लामो समयदेखि नेपाली संगीत संसारलाई तरङ्गित बनाउँदै आएका छन् ।

कार्यक्रम बारे ‘पलेँटी’ संयोजक आभास भन्छन्, ‘साङ्गीतिक रचनाका तीनवटै विधालाई समेट्ने क्रममा यसपाली गीतकार नीर शाहलाई निम्त्याएका छौँ । संचार र चलिचित्र क्षेत्रका साथै गीति साहित्यमा उहाँको उल्लेख्य योगदान रहेको छ । सृजनात्मक अनुभवसहितको यसपालीको पलेँटी रोमान्चक रहनेमा विश्वस्त छु ।’

पलेँटी निम्ति तयारी गरिरहेको साङ्गीतिक टिम माझ भेटिएका गीतकार शाह आगामी कार्यक्रम बारे टिप्पणी गर्दै भन्छन्, ‘संगीत नाट्य विधासँग म यसरी नजिक छु कि सङ्गीतको सानो ध्यान वा ठूलो कन्सर्ट भइरहेको ठाउँ उत्तिकै प्रिय लाग्छ । पलेँटीको पूर्वाभ्यासमा सहभागी हुन आइपुगेँस गायक वाद्यवादक सबै प्रतिभा सम्पन्न हुनुहुँदो रहेछ । गौरवशाली इतिहास हो यो । उहाँहरूको प्रतिभासित प्रत्यक्ष साक्षी हुने मौका पाउँदा उत्साहित बनेको छु ।’

यसपाली पलेँटीमा प्रस्तुत हुने शाहका रचनामा सङ्गीतकार नातिकाजी, शम्भुजित बासकोटा, सिके रसाइली र दीप श्रेष्ठहरूले धुन भरेका गीत समेटिएका छन् ।

आफ्नो अनुभवको सम्झना गर्दै शाह अगाडि भन्छन्, ‘नारायणगोपाल दाइको लाइभ कन्सर्ट गरेको सम्झना छ । त्यो मेरो दायित्व थियो । त्यस्तै प्रकृतिको पलेँटीलाई जीवनका महत्वपूर्ण शृंखलामध्ये एक हो भन्ने ठानेको छु ।’

पलेँटी कार्यक्रम यही अगष्ट महिनाको अन्तिम शुक्रबार र शनिबार (२८ र २९ तारिख) का दिन आयोजना हुनेछ । आरशालामा उपस्थित हुन असमर्थ सङ्गीतप्रेमीका निम्ति अनलाइनबाटै प्रत्यक्ष हेर्ने व्यवस्था पनि गरिएको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti