
प्रेस विज्ञप्ति
मिति: २०८३ भदौ १५
विषय: चलचित्र ‘बा : एक योद्धा’को हालको प्रदर्शन स्थगन तथा नयाँ प्रदर्शन मिति संबन्धमा!
गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्याएको अकल्पनीय जनधनको क्षतिप्रति आर्टिस्टिक इन्टरटेन्मेन्ट परिवार अत्यन्तै स्तब्ध र मर्माहत भएको छ । प्रकृतिले निम्त्याएको यो महाविपत्तिमा परी ज्यान गुमाउनुहुने मृतकहरूप्रति भावपूर्ण श्रद्धासुमन, शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना र सम्पूर्ण घाइतेजनहरूमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ । साथै, प्रभावित क्षेत्रमा राहत र उद्धारको पर्खाइमा रहनुभएका सम्पूर्ण नागरिकहरूको यथाशीघ्र राहत तथा उद्धारका लागि कामना पनि गर्दछौँ ।
हाम्रो बुझाइमा सिनेमा समाजको ऐना मात्र होइन, यो मानवीय संवेदनाको संवाहक पनि हो । देशको एउटा भूगोल अकल्पनीय प्रलयमा परी हाम्रा बुवा-आमा, दाजुभाइ-दिदीबहिनीहरूले आर्तनाद गरिरहेको वर्तमान अवस्थामा एउटा सामाजिक र पारिवारिक कथावस्तु बोकेको चलचित्र हाल प्रदर्शन गर्न हामीले उपयुक्त ठानेनौँ ।
देशको यो विषम परिस्थिति, जनमानसको विक्षिप्त मानसिकता र पीडितहरूप्रतिको साझा ऐक्यबद्धतालाई सम्मान गर्दै आगामी भदौ १९ गतेबाट देशभर प्रदर्शनका लागि तय भएको हाम्रो चलचित्र ‘बा : एक योद्धा’ को प्रदर्शन हाललाई स्थगित गरिएको र चलचित्रको नयाँ प्रदर्शन मिति आगामी मङ्सिर २४ गते बिहिबारलाई तोकिएको जानकारी पनि गराउंछौं । यस निर्णयबाट हाम्रा आदरणीय दर्शक, प्रदर्शक, वितरक तथा सञ्चारकर्मीहरूमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ ।
साथै, विपद्को यस घडीमा हाम्रो चलचित्र ‘बा : एक योद्धा’ परिवारको तर्फबाट रु. २ लाख १ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छौँ । राष्ट्र नै शोकमा डुबेको यस विषम परिस्थितिमा एकजुट भई राहत र उद्धार कार्यमा आ-आफ्नो तर्फबाट सहयोग गर्न हामी, देश-बिदेशमा रहनुभएका संपूर्ण नेपाली दाजु-भाइ, दिदी-बहिनीहरुमा हार्दिक अनुरोध समेत गर्दछौँ ।
धन्यवाद ।
…………………………
वसन्त लम्साल
निर्माता
आर्टिस्टिक इन्टरटेन्मेन्ट





