भोटेकोशी बाढीपछि ‘फेस अफ नेपाल–२०२६’को फिनाले सर्‍यो भोटेकोशी बाढीपछि ‘फेस अफ नेपाल–२०२६’को फिनाले सर्‍यो

भोटेकोशीमा आएको बाढीले देशमा उत्पन्न विपद्को अवस्थालाई मध्यनजर गर्दै फेसन रियालिटी शो ‘फेस अफ नेपाल-२०२६’को ग्रान्ड फिनाले स्थगित गरिएको छ ।

शोको आयोजक एमएस प्रोडक्सनले एक सूचना जारी गर्दै विपद्को यस अवस्थामा सहभागी तथा सम्बन्धित सबैको सुरक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै फिनाले स्थगित गर्ने निर्णय गरिएको जनाएको हो ।

यही अगस्ट ३० मा आयोजना हुने तय भएको फिनाले अब सेप्टेम्बर ६ मा हुने आयोजकले जनाएको छ । फिनाले ग्वार्कोस्थित रोयल टुलिपमा बेलुका ५ बजे सुरु हुनेछ । आयोजकले २८ अगस्टमै फिनाले स्थगित गरेको जानकारी दिएको थियो भने आज नयाँ मिति सार्वजनिक गरेको हो ।

यो सँगै आयोजकले प्रतियोगी, साझेदार, प्रायोजक, सञ्चारमाध्यम तथा शुभेच्छुकहरूको समझदारी र सहयोगप्रति आभार व्यक्त गरेको छ। साथै, विपद्को अवस्थामा सबैलाई सुरक्षित र बलियो रहन आग्रह गरेको छ ।

आयोजकका अनुसार फिनालेका लागि कुल १९ जना प्रतियोगी प्रतिस्पर्धामा छन् । जसमा ८ जना महिला र ११ जना पुरुष प्रतियोगी रहेका छन् ।

फिनालेको निर्णायक मण्डलमा एसिया मोडल फेस्टिभलका अध्यक्ष याङ युई सिङ, फेस अफ नेपाल-२०२१ तथा अभिनेत्री, मोडल नीति शाह, राष्ट्रिय निर्देशक मेनुका माझी, फेस अफ नेपाल-२०२४ का हिमाञ्चल राज केसी, भ्यालेन्टिनो बुटिक तथा भ्यालेन्टिनो इन्टरनेसनल कलेज अफ फेसन एन्ड इन्टेरियरका संस्थापक तथा फेसन डिजाइनर सुकनीता चौलागाईं र नेपालका लागि कोस्टारिका गणराज्यका मानार्थ वाणिज्यदूत तथा ग्लोबल इक्विटी फन्डका संस्थापक प्रबन्धक साझेदार मनीष थापा रहेका छन् ।

याङ युई सिङ कोरियान फेसन शोका परिचित अनुहार हुन् । उनी यो शोको ग्रान्ड फिनालेका लागि नेपाल आइसकेका छन् ।

फेस अफ नेपाल-२०२६ अन्तर्राष्ट्रिय प्रतिष्ठित एसिया मोडल फेस्टिभल, दक्षिण कोरियाको नेपालको आधिकारिक फ्रेन्चाइजका रूपमा सञ्चालन हुँदै आएको प्रतियोगिता हो ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti