विवाह र पारिवारिक फिल्म ‘अक्षरा’को ट्रेलर सार्वजनिक, भदौ २६ देखि प्रदर्शनमा विवाह र पारिवारिक फिल्म ‘अक्षरा’को ट्रेलर सार्वजनिक, भदौ २६ देखि प्रदर्शनमा

भदौ २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रवार काठमाडौँमा आयोजित एक पत्रकार सम्मेलनकाबीच निर्माण पक्षले ३ मिनेट २४ सेकेण्ड लामो ट्रेलर रिलिज गरेको हो।

ट्रेलर रिलिज कार्यक्रममा निर्माण पक्षले फिल्म रिलिजपछि निर्माताको भागमा आएको रकमको १० प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा जम्मा गरिदिने घोषणा गरेका छन्। हलबाट निर्माताको भागमा आएको रकमको १० प्रतिशत कोषमा जम्मा गर्ने निर्माण पक्षले घोषणा गरेको हो।

सार्वजनिक ट्रेलरमा अभिभावकले छोरीको चाहना र इच्छाविपरीत खान्दानी केटो हेरेर जबरजस्ती विवाह गरिदिएपछि उत्पन्न हुने पारिवारिक समस्या र त्यसको सामाजिक असरलाई मुख्य विषयवस्तु बनाइएको छ। निकै मार्मिक तथा सन्देशमूलक कथावस्तुमा आधारित यो फिल्मको ट्रेलरले नेपाली समाजको यथार्थ चित्र बोलेको छ।

विनयराज पौडेलको निर्देशनमा बनेको यस फिल्ममा सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा प्रस्तुत भएका छन्। उनीहरूसँगै सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्काको अभिनय देख्न सकिन्छ। फिल्ममा बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना रहेका छन्।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्मित ‘अक्षरा’की प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन् भने उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले लगानी गरेका छन्। फिल्मको कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने छन्।

निर्माता उग्रसेन स्वयंको मूल कथा रहेको फिल्मको पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका हुन्। सुरेन्द्र रानाको शब्द र कर्णराज गिरीको सङ्गीत रहेको फिल्मका गीतमा अञ्जु पन्त, समीक्षा अधिकारी, रचना रिमाल र एसडी योगीको स्वर सुन्न सकिन्छ।

दिपेन बस्न्यातको छायाङ्कन, गौतम खड्काको सम्पादन, साहिल खानको टिजर तथा ट्रेलर कट, रामजी लामिछानेको नृत्य र शंकर महर्जनको द्वन्द्व निर्देशन फिल्ममा रहेको छ। नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्न लागेको यस फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti