‘बेहुली’ को अग्रिम टिकट बिक्री सुरु, देशभर १००+ शो  ‘बेहुली’ को अग्रिम टिकट बिक्री सुरु, देशभर १००+ शो

 यही शुक्रवार, भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘बेहुली’को अग्रिम टिकट बिक्री सुरू भएको छ। ट्रेलर रिलिजसँगै डिजिटल प्लेटफर्ममा सुनामी ल्याएको यस चलचित्रले अग्रिम टिकट बुकिङमा पनि सुखद सुरुवात गरेको छ। बुधवार बिहानसम्मको तथ्याङ्क अनुसार ‘बेहुली’ले नेपालभरका हलहरूमा १०० भन्दा धेरै शो प्राप्त गरिसकेको छ, जसले बक्स अफिसमा बलियो ओपनिङको सङ्केत दिएको छ।

दर्शकहरूको उच्च पर्खाइ र उत्साहलाई मध्यनजर गर्दै नेपालका प्रमुख मल्टिप्लेक्स चेनहरूले चलचित्रलाई उल्लेख्य शोहरू उपलब्ध गराएका छन्। नेपालको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले देशभरका आफ्ना हलहरूमा बाक्लो शो निकालेको छ भने दोस्रो ठुलो चेन आइएनआई सिनेमाजले पनि दर्शकका लागि पर्याप्त शोहरू खुला गरेको छ। यसका साथै फ्रेन्ड्स सिनेमा, वन सिनेमा लगायतका देशभरका अन्य सिंगल तथा मल्टिप्लेक्स हलहरूमा पनि चलचित्रले सानदार शो प्राप्त गरेको छ। चलचित्रका वितरक गोविन्द शाहीका अनुसार दर्शकको बढ्दो चाप र उत्साहलाई हेर्दा प्रदर्शन मितिसम्ममा यो शो सङ्ख्या अझै वृद्धि हुँदै जानेछ।

‘बेहुली’ले हलहरूमा प्राप्त गरेको यो लोभलाग्दो शो र बुकिङको मुख्य आधार यसको सशक्त ट्रेलरलाई मानिएको छ। आइतबार सार्वजनिक भएको ट्रेलरले जम्मा २४ घण्टाभित्रै युट्युबमा १० लाख (१ मिलियन) भन्दा धेरै भ्युज बटुल्दै नयाँ रेकर्ड कायम गरेको थियो। १८ घण्टामै नेपालको युट्युब ट्रेन्डिङको शीर्ष स्थान (नम्बर १) कब्जा गरेको यस ट्रेलरले नेपाली दर्शकको बाक्लो उपस्थिति रहेका कुवेत, कतार, साउदी अरब, मलेसिया, युएई, दक्षिण कोरिया, जापान, अस्ट्रेलियादेखि युरोपका रोमानिया र पोर्चुगलसम्मका ट्रेन्डिङ चार्टमा सानदार इन्ट्री मारेर विश्वभर आफ्नो प्रभाव छाडेको थियो।

ट्रेलरमा प्रस्तुत गरिएको माया, पारिवारिक सम्बन्ध र मित्रताको कलात्मक कथाले दर्शकको मन जितेको छ। विशेष गरी सामाजिक सञ्जालमा ‘कुल ब्वाई’को उपनामले चिनिएका पारस बम ठकुरी र अभिनेत्री दिव्या रायमाझीबीचको अनस्क्रिन रोमान्टिक केमेस्ट्रीले दर्शकलाई मन्त्रमुग्ध बनाएको छ।

साथै, सुशान्त कार्कीको प्रहरीको दमदार अवतार, लोकप्रिय कमेडियन पदम तामाङको हँसाउने शैली र सन्तोष बानियाको विल्कुलै फरक एवं प्रभावशाली अभिनयले चलचित्रप्रतिको कौतुहलतालाई शिखरमा पुर्‍याएको छ।

सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको यस चलचित्रमा सरिता गिरी, विशाल पहारी, कर्मा लामा लगायतका चर्चित अनुहारहरूको समेत अभिनय रहेको छ। द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रका प्रस्तुतकर्ता अर्जुन पोखरेल र निर्माता प्रताप शमशेर राणा हुन्।

ट्रेलरले खडा गरेको रेकर्ड र अहिले भइरहेको उत्साहजनक बुकिङले शुक्रबारदेखि हलहरूमा ‘बेहुली’को जादु चल्ने निश्चित प्रायः देखिएको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti