अभिनेता अरुण क्षेत्रीलाई शीर्ष भूमिकामा लिएर सरोज न्यौपानेले निर्माण गर्न लागेको आगामी कथानक फिल्मको शीर्षक ‘फेरि भेटौंला’ राखिएको छ ।
यो फिल्मको पटकथा रमेश गजुरेलले लेखिरहेका छन् । पटकथा लेखन सकिएपछि तिहार लगत्तै छायांकनमा जाने गरि काम भैरहेको न्यौपानेले जानकारी दिए । प्रदर्शन २०८४ को बैशाख महिनालाई लक्षित गरिएको छ ।
रोमान्टिक कमेडी जनरामा निर्माण हुन लागेको फिल्ममा क्षेत्री शीर्ष भूमिकामा हुनेछन् । निर्माता न्यौपानेका अनुसार लिड फिमेलमा आँचल शर्मा हुने सम्भावना लगभग तय छ । अभिनेत्री शर्मासँग मौखिक सहमति जुटेको र लिखित सहमति हुन बाँकी रहेको जानकारी न्यौपानेले दिए ।
क्षेत्रीको पछिल्लो फिल्म ‘गौंथली’ बक्सअफिसमा हिट भैरहँदा न्यौपानेले गतसाता उक्त अनटाइटल फिल्मको घोषणा गरेका थिए । अहिले आएर यो फिल्मको टाइटल सार्वजनिक गरिएको छ ।
‘मेरा हरेक फिल्मको निर्देशक पछि निश्चित हुन्छन् । स्क्रिप्ट फाइनलपछि मात्र मैले निर्देशन तय गर्ने गरेको छु’ न्यौपानेले भने । यद्यपि, पुरानै निर्देशक फर्किने सम्भावना नरहेको उनको भनाइ छ ।
निर्माता न्यौपानेले यसअघि सम्बोधन, ग्याङस्टर, ब्लुज, जेरी अन टप निर्माण गरिसकेका छन् । रोचक के छ भने, सन् १९९० मा पनि ‘फेरि भेटौंला’ फिल्म निर्माण भएको थियो, जुन अहिलेकी चर्चित अभिनेत्री मनिषा कोइरालाको डेब्यू फिल्म समेत हो ।





