‘बसन्ती’को छायांकन शनिबारदेखि सुरु  ‘बसन्ती’को छायांकन शनिबारदेखि सुरु 

निर्माता तथा निर्देशक नारायण रायमाझीले नयाँ नेपाली सिनेमा ‘बसन्ती’को निर्माण घोषणा गरेका छन् । शुक्रबार आज बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै सिनेमा निर्माणको औपचारिक घोषणा गरिएको हो ।

यसअघि पनि ‘बसन्ती’ नाममा सिनेमा निर्माण भइसकेको छ । २०५७ सालमा नीर शाहले यही नाममा सिनेमा निर्देशन गरेका थिए । उक्त सिनेमा उपन्यासकार डायमण्ड समशेर राणाको उपन्यास ‘बसन्ती’मा आधारित थियो । उक्त सिनेमा प्रदर्शनको २६ वर्षपछि सोही नाममा नारायण रायमाझीले नयाँ सिनेमा निर्माण गर्न लागेका हुन् ।

यो निर्देशक रायमाझीको चौथो निर्देशकीय सिनेमा हो । यसअघि उनले ‘गोर्खापल्टन’, ‘परदेशी’ र ‘परदेशी २’ निर्देशन गरेका थिए । यी सवै सिनेमा बक्सअफिसमा सुपरहिट भएका थिए ।

असोज ३ गते भोलि शनिबारदेखि सिनेमाको काठमाडौं सेड्युलको छायांकन सुरु गरिने निर्देशक रायमाझीले बताए । सिनेमा काठमाडौं, पाल्पा, जनकपुर र बुटवलसँगै भारतका विभिन्न स्थानमा गरिने निर्माण पक्षले जनाएको छ ।

रिमा फिल्मस् प्रा.लि.को प्रस्तुतिमा निर्माण हुने सिनेमाले कस्तो कथा प्रस्तुत गर्नेछ भन्ने विषय निर्माण पक्षले गोप्य राखेको छ । ‘बसन्ती’मा संगीतकार खेम सेन्चुरी र मोडल टेरिया फौजा मगर मुख्य भूमिकामा देखिनेछन् ।

उनीहरूका साथै सिनेमामा सुशील पोखरेल, तारा शर्मा, संगीता थापा, सुजन सिंह खड्का, आकाश सुहाङ, प्रशंसा शिवाकोटी, विकास राना, मनोज खड्का, बिजया पौडेल, हरि अधिकारीलगायत कलाकारको अभिनय रहनेछ ।

निर्देशक रायमाझीले नै लगानी गर्ने सिनेमाको कथा रमेश बिजिले लेखेका हुन् । सिनेमाको मुख्य सह-निर्देशकमा चन्द्र कुमार भट्टराई, एशोसियट निर्देशकमा सुजता बस्याल राना, सह-निर्देशकका रूपमा यगे बहादुर राउत र सन्जीव चन्द रहेका छन् ।

सिनेमाको गीतमा रमेश बिजि, लालगोपाल सुवेदी, बिबि अनुरागी र नारायण रायमाझीको शब्द रहनेछ । संगीतकारमा बिबि अनुरागी र नारायण रायमाझी रहने छन् । सिनेमा छायांकन शिव ढकालले गर्नेछन् । सह-छायांकारमा जयन्द्र रावल जोडिएका छन् ।

नहकुल खड्काले सम्पादन गर्ने सिनेमामा रोशन विश्वकर्मा र रविता मगरको कोरियोग्राफी, श्यामश्वेत रसाइलीको साउन्ड डिजाइन तथा मिक्सिङ, दिनेश बिष्टको भिएफएक्स, धन बहादुर राई (सन्देश)को प्रोडक्सन डिजाइन, सेट डिजाइन तथा निर्माणमा हुम बहादुर बिक, आर्टमा धुर्व कार्की र श्रृंगार सरोज बुढाथोकी, ड्रेस डिजाइन श्रेया लो र लाइन प्रोड्युसरमा खेमराज अर्याल (मिराज) रहने छन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti