निर्देशक सौरभ चौधरीको महत्वाकांक्षी चलचित्र ‘द राइज अफ साम्राज्य’को छायांकन सुरु भएको छ । मंगलबार विराटनगरमा शुभमुहूर्त गर्दै चलचित्रको छायांकन थालिएको हो ।

यो चलचित्रलाई उनले यसपटक अझ ठूलो क्यानभासमा निर्माण गर्न लागेका छन् । एपिक एक्सन ड्रामाका रूपमा निर्माण हुने चलचित्रको छायांकनका लागि ७० दिनको तालिका तय गरिएको छ । चलचित्रको अधिकांश छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा गरिनेछ ।
चलचित्रको कलाकार लाइनअप पनि आकर्षक छ । सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली, सुशील श्रेष्ठ र अमरप्रताप श्रेष्ठ प्रमुख भूमिकामा देखिँदैछन् । अभिनयमा अब्बल कलाकारहरूको बलियो टिमसँग काम गर्न पाउँदा निर्देशक सौरभ उत्साहित देखिएका छन् ।
विशेषगरी सौगात मल्लले चलचित्रमा निकै चुनौतीपूर्ण भूमिका निर्वाह गर्नेछन् । उनले २५ वर्षको जवानदेखि ८० वर्षको वृद्धसम्मको जीवन यात्रा पर्दामा प्रस्तुत गर्ने निर्देशकले बताएका छन् । एउटै पात्रको लामो उमेर अन्तरलाई अभिनयमार्फत देखाउनु सौगातका लागि समेत महत्वपूर्ण चुनौती बन्नेछ ।

यसैगरी, सौरभले पहिलोपटक दयाहाङ राईसँग सहकार्य गर्दैछन् । दयाहाङलाई यसपटक दर्शकले फरक चरित्रमा देख्न पाउने उनको भनाइ छ । ‘अगस्त्यः च्याप्टर १’मा सौगात मल्ल र विजय बरालसँग काम गरिसकेका सौरभले उनीहरूसँग पुनः सहकार्य गरेका हुन् ।
सुशील श्रेष्ठसँग पनि सौरभको करिब ६ वर्षपछि पुनर्मिलन भएको छ । उनीहरूले यसअघि सौरभकै पहिलो निर्देशकीय चलचित्र ‘लभ डायरीज’मा सहकार्य गरेका थिए । अर्का कलाकार अमरप्रताप श्रेष्ठले भने यही चलचित्रका लागि निर्देशक सौरभको निगरानीमा करिब साढे दुई वर्षदेखि प्रशिक्षण लिइरहेका थिए ।
“हामीले अभिनयमा अब्बल कलाकार भित्र्याएकोमा उत्साहित छु ।” निर्देशक सौरभले भने ।
‘द राइज अफ साम्राज्य’को कथा तथा पटकथा चर्चित उपन्यासकार बुद्धिसागरले लेखेका हुन् । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रलाई नेपाली सिनेमाकै ठूलो स्केलको एक्सन चलचित्र बनाउने निर्माण पक्षको दाबी छ ।

प्रवेश चौधरी र निला देव निर्माता रहेको चलचित्रमा विश्वास बस्नेत (बेन) को–प्रोडुसर तथा शंकर पाण्डे कार्यकारी निर्माता छन् । मानकृष्ण महर्जन डीओपी र श्री श्रेष्ठ एक्सन निर्देशकमा छन् । डिजिटल पार्टनर ओएसआर डिजिटल, पब्लिसिटीमा टौवा स्टुडियो तथा वितरक डिसीएन रहेका छन् ।




