टनेल २६को ट्रेलर सार्वजनि असोज २३ देखि नेपाल र भुटानका दर्शकमाझ टनेल २६को ट्रेलर सार्वजनि असोज २३ देखि नेपाल र भुटानका दर्शकमाझ

नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको चलचित्र ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’को ट्रेलर सार्वजनिक गरिएको छ। ललितपुरस्थित लबिम मलमा आयोजित कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।

चलचित्र आगामी असोज २३ गते अर्थात् अक्टोबर ९ देखि नेपाल र भुटानका हलमा प्रदर्शनमा आउनेछ। ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका भुटानी तथा नेपाली निर्माता सहभागी थिए भने कार्यक्रममा सहभागी हुन भुटानबाट १६ सदस्यीय टोलीसमेत नेपाल आएको थियो।

सार्वजनिक ट्रेलरमा भुटानको एक जलविद्युत् सुरुङभित्र भएको हताहतीको घटनापछि उत्पन्न परिस्थितिलाई प्रस्तुत गरिएको छ। डिजास्टर जनरामा निर्माण भएको चलचित्र भुटानमा घटेका वास्तविक घटनाबाट प्रेरित रहेको निर्माण टिमले जनाएको छ। चलचित्रलाई कृत्रिम सेटमा मात्र सीमित नराखी कथालाई प्रेरणा दिएको भुटानस्थित वास्तविक सुरुङभित्र समेत महत्वपूर्ण दृश्यको छायांकन गरिएको छ।

चलचित्रको छायांकन करिब १०० दिनसम्म सञ्चालन भएको थियो। कथाको भौगोलिक परिवेश र दृश्यात्मक आवश्यकतालाई ध्यानमा राखेर लामो समयसम्म गरिएको छायांकनले निर्माण टिमको विस्तृत तयारी र प्रतिबद्धता देखाउने निर्माण पक्षको भनाइ छ। ट्रेलरमा सुरुङभित्रको दुर्घटना, त्यसपछि सिर्जना हुने संकट र त्यसबाट उत्पन्न परिस्थितिलाई केन्द्रमा राखिएको छ। दृश्य प्रभाव तथा भीएफएक्समा गरिएको कामले चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरको स्वरूप दिने प्रयास गरिएको देखिन्छ।

‘टनेल २६’लाई सङ्गे फिल्म्स र पिक एक्सभीले प्रस्तुत गरेका हुन्। चलचित्रको निर्माणमा दोर्जी वाङ्चुक नेतृत्वको डोर्जिस प्रोडक्सन, प्रशान्त कुमार गुप्ता तथा कृष्ण गुप्ताको नेतृत्वको रेल्टिक पिक्चर्स, भुटान सरकारअन्तर्गतको DoMCIIP तथा निर्देशक डीडी किन्लेको रोलिङ इमेज पिक्चर्सको सहकार्य रहेको छ। चलचित्रका कार्यकारी निर्माता दोर्जी वाङ्चुक हुन् भने नेपाली अभिनेता प्रदीप खड्का क्रिएटिभ प्रोड्युसरका रूपमा जोडिएका छन्। खड्काले चलचित्रको रचनात्मक तथा कलात्मक विकासमा समेत योगदान दिएका छन्।

चलचित्रको लेखन, निर्देशन तथा सम्पादन डीडी किन्लेले गरेका हुन्। यसमा सङ्गे छेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादालगायतका कलाकारको अभिनय रहेको छ। प्रदीपका लागि ‘टनेल २६’ चौथो निर्माण सहकार्य हो। यसअघि उनले ‘स्केप’, ‘ठुलो मान्छे’ र ‘एक्लो’मा निर्माण सहकार्य गरेका थिए।

ट्रेलर रिलिज कार्यक्रममा निर्माता निर्वाण चौधरीले फिल्म निर्माणमा आफूपनि साझेदार भएर अगाडी बढ्न पाउँदा खुसी लागेको बताए । उनले बुबा बिनोद चौधरीले चार दशक अघि फिल्म निर्माण गरेको स्मरण गराउँदै अब आफूले पनि फिल्म निर्माणमा निरन्तरता दिने बताएका थिए । बिशेषगरी निर्वाणले नेपाल र भुटानको टिम बनेर काम गर्न पाउँदा आफू उत्सुक भएको बताए । क्रिएटिभ निर्माताको रुपमा रहेको अभिनेता प्रदीप खड्काले निर्वाण चौधरी र भुटानमा निकै उत्कृष्ट काम गरिरहेका कलाकार, प्राविधिकसँग जोडिन पाउँदा खुसी लागेको बताए । उनले यस फिल्ममा आफू निर्माताको रुपमा मात्र रहेको र कलाकार नरहेको पनि स्पष्ट पारे । 

मुख्य कलाकार तथा अर्का निर्माता सङ्गे छेल्ट्रिमले बलिउड मात्र हैन हलिउडस्तरकै फिल्म बनेको भन्दै ढुक्कका साथ सबैलाई फिल्म हेर्न आग्रह गरे । उनले नेपाल र भुटानको टिम बनेर काम गर्दा यति राम्रो बनेको समेत उल्लेख गरे । साथै उनले अर्को महत्वपुर्ण कुरा नेपालमा पछिल्लो समय आएको बिनाशकारी बाढीका कारण जनधनको क्षति भएको प्रति दुख ब्यक्त गर्दै फिल्मको पुरा आम्दानीको २५ प्रतिशत अर्थात आफ्नो सेयरको ५० प्रतिशत आम्दानी नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने घोषणा समेत गरे । निर्देशक डिडिले अहिले आफूले फिल्मको बिषयमा धेरै बोल्ने मात्र भन्दा पनि रिलिज पछि नै सबैले हेरेर मुल्यांकन गर्नेछन् भन्दै आफ्ना भनाई राखे ।

चलचित्रको छायांकन दीर्घ गुरुङ र सङ्गे टी. तेन्जिङले गरेका हुन्। राजु तामाङ एक्सन निर्देशक, कृष्ण शर्मा निर्माण डिजाइनर, पेमा लामो निर्माण व्यवस्थापक तथा ब्लु छेरिङ दोर्जी मेकअप तथा पोसाक विभाग प्रमुखका रूपमा छन्। चलचित्रको संगीत तथा ध्वनि सम्बन्धी काम थाइल्यान्डमा गरिएको हो। संगीतकार तेर्डसाक जानपानले पृष्ठभूमि संगीत तयार पारेका छन् भने करण थामावोङले ध्वनि डिजाइन तथा पुनः रेकर्डिङ मिक्सिङ सम्हालेका छन्। रथाकोर्न थोङनुनले संवाद सम्पादन तथा फोलीको काम गरेका छन्। चलचित्रको दृश्य प्रभाव निफान स्टुडियोले तयार पारेको हो।

नेपालमा चलचित्रको व्यवस्थापन लिभेन्टस् स्टुडियो प्रा.लि.ले गरेको हो भने सन्तोष कुमार कार्कीले व्यवस्थापन सम्हालेका छन्। ‘टनेल २६’को टिजर यसअघि अगस्ट १४ मा सार्वजनिक गरिएको थियो। निर्माण टिमका अनुसार टिजरले नेपाल र भुटानसँगै युरोप तथा उत्तर अमेरिकाका दर्शक र अन्तर्राष्ट्रिय वितरकको समेत ध्यान खिचेको थियो।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti