बा एक योद्धाले हरिवंश आचार्यलाई भित्रैदेखि भावुक बनायो बा एक योद्धाले हरिवंश आचार्यलाई भित्रैदेखि भावुक बनायो

प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बा : एक योद्धा’को प्रिमियर गरिएको छ । मंगलबार साँझ आयोजित प्रिमियरमा फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ ।

अभिनेता हरिवंश आचार्यले फिल्म हेरेर आफू भावुक बनेको बताए । फिल्मले वर्तमान समाजमा युवाको बढ्दो अपेक्षा र विदेश पलायनसँगै बुवाआमाले सन्तानका लागि गर्ने त्यागलाई प्रस्तुत गरेको उनको भनाइ छ ।

यसअघि नेपालगञ्ज, दाङ, धरान र बुटवलमा आयोजित प्रदर्शनमा पनि सकारात्मक प्रतिक्रिया पाएको फिल्मले सन्तानका लागि बुबाले गर्ने त्याग, संघर्ष र बुढेसकालमा सन्तानबाटै भोग्नुपर्ने पीडाको कथा प्रस्तुत गर्छ ।

रोजगारी, अध्ययन तथा विभिन्न अवसरको खोजीमा सन्तान विदेशिने क्रम बढ्दै जाँदा घरमा रहेका वृद्ध बुवाआमाले भोग्ने एक्लोपन, उपेक्षा र पारिवारिक दूरीलाई फिल्मले समेटेको छ । सन्तानको भविष्यका लागि जीवनभर संघर्ष गर्ने बुवाआमा र विदेश पुगेपछि परिवार तथा अभिभावकप्रतिको जिम्मेवारीबाट टाढिँदै जाने सन्तानको व्यवहारबीचको अन्तरविरोध फिल्ममा प्रस्तुत गरिएको छ ।

अभिनेत्री ऋचा शर्माले फिल्मसँगै दिव्यदेवको अभिनयको विशेष प्रशंसा गरिन् । ‘यो सिनेमाको सुपरस्टार को हो भन्ने हामी सबैलाई थाहा छ, दिव्यदेव पन्त,’ उनले भनिन्, ‘उहाँजस्तो कलाकारले सफलताको शिखर चुम्नुपर्छ भन्ने मेरो बुझाइ हो ।’

कलाकारको सहज देखिने अभिनयका पछाडि ठूलो मेहनत हुने उल्लेख गर्दै ऋचाले दिव्यदेवको अभिनयमा आफूले त्यही मेहनत देखेको बताइन् । फिल्मले दिव्यदेवलाई आफ्नो अभिनय क्षमता देखाउने राम्रो अवसर दिएको र यसको सफलताको प्रमुख हकदारमध्ये उनी पनि रहेको उनको धारणा थियो ।

अभिनेत्री झरना थापाले पनि फिल्मको प्रशंसा गरिन् । उनले आफ्नी छोरीसमेत रहेकी अभिनेत्री सुहाना थापाको अभिनयको तारिफ गरिन् ।

‘सबै कलाकारको पर्फर्मेन्स एकदमै राम्रो छ । टेक्निकल्ली पनि क्यामेरा र अरू सबै राम्रो छ । समष्टिगत रूपमा चलचित्र राम्रो लाग्यो,’ उनले भने ।

पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले पनि फिल्मको प्रशंसा गरे । कथावस्तु, प्रस्तुति र सन्देश प्रभावकारी रहेको बताउँदै उनले फिल्मले समाजमा बढ्दै गएको स्वार्थ र त्यसले पारिवारिक सम्बन्धमा पारिरहेको असरलाई देखाएको उल्लेख गरे ।

‘हाम्रो आफ्नो जीवनमा जे अवस्था छ, कथावस्तुले त्यसलाई समेटेको छ । कथा उत्कृष्ट छ, प्रस्तुति पनि उत्कृष्ट छ र यसले दिन खोजेको सन्देश पनि उत्कृष्ट छ,’ उनले भने ।

सन्तानको इच्छा पूरा गर्नु नै बुवाआमाको सबैभन्दा ठूलो चाहना हुने उल्लेख गर्दै आचार्यले फिल्मले यही भावलाई बुवाको चरित्रमार्फत प्रस्तुत गरेको बताए ।

उनले दिव्यदेवले निर्वाह गरेको बुवाको भूमिकाको पनि प्रशंसा गरे । सुरुको करिब ४५ मिनेटसम्म कथा विस्तारै अघि बढेजस्तो लागे पनि त्यसपछि फिल्मले दर्शकलाई बाँधेर राख्ने उनको प्रतिक्रिया थियो ।

आफूले भोगेको बुवाको समय र फिल्मको परिवेश फरक भए पनि यसको कथा आधुनिक समाजको वास्तविकतासँग नजिक रहेको उनले बताए । ‘मलाई चलचित्र राम्रो लाग्यो । रुन मन लाग्यो । सितिमिति लोग्नेमान्छे रुँदैनन्, मनमनै रोएँ,’ उनले भने ।

शिवराम श्रेष्ठको छायांकन रहेको फिल्मका मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन् । आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले फिल्म वितरण गर्नेछ । ‘बा : एक योद्धा’ असोज ९ गते शुक्रबारदेखि प्रदर्शनमा आउनेछ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti