आचार्य फेम पूर्णिका सिजापति हाम्रो सानो घर की मुख्य नायिका आचार्य फेम पूर्णिका सिजापति हाम्रो सानो घर की मुख्य नायिका

 नेपाली चलचित्र ‘हाम्रो सानो घर’ मा अभिनेत्री पूर्णिका सिजापति मुख्य अभिनेत्रीका रूपमा अनुबन्धित भएकी छन् । निर्देशक तथा लेखक सुमन गजमेरको निर्देशनमा बन्न लागेको चलचित्रमा पूर्णिकाको प्रवेशसँगै निर्माण पक्षले कलाकार छनोटलाई थप गति दिएको छ ।

पूर्णिका सिजापति नेपाली मोडलिङ क्षेत्रमा परिचित नाम हुन् । उनले १६ वर्षको उमेरदेखि मोडलिङ यात्रा सुरु गरेकी थिइन् । कक्षा ११ मा अध्ययन गर्दै गर्दा मोडलिङमा प्रवेश गरेकी उनले ‘फेस अफ टिन २०२१’ को उपाधि जितेकी थिइन् । त्यसपछि उनले ‘फेस अफ क्लासिक डायमन्ड २०२४’ को उपाधिसमेत हासिल गरेकी छन् ।

मोडलिङ तथा कन्टेन्ट क्रिएसनमा सक्रिय पूर्णिकाले विभिन्न फेसन तथा ब्रान्डसँग काम गर्दै आएकी छन् । पछिल्लो समय उनी नेपाली चलचित्रमा समेत प्रवेश गरेकी हुन् । उनी ‘आचार्य’ चलचित्रमा कलाकारका रूपमा देखिँदैछिन्, जहाँ उनले नेपालीसँगै बलिउड तथा दक्षिण भारतीय कलाकारहरूसँग स्क्रिन सेयर गर्ने अवसर पाएकी छन् ।

अब भने पूर्णिका ‘हाम्रो सानो घर’ मा मुख्य भूमिकामा देखिने भएकी छन् । चलचित्रको कथा, पटकथा तथा निर्देशन सुमन गजमेरको रहनेछ ।

समकालीन पुस्ता अर्थात् जेनेरेसन–जेड (Gen Z) को प्रेम, सम्बन्ध, सपना, सामाजिक सोच र जीवनशैलीलाई केन्द्रमा राखेर निर्माण हुन लागेको ‘हाम्रो सानो घर’ लाई प्रेमकथामार्फत सामाजिक विषयसमेत प्रस्तुत गर्ने चलचित्रका रूपमा निर्माण पक्षले अघि बढाएको छ । चलचित्रले प्रेमसँगै नेपाली समाजमा विद्यमान जातीय तथा वर्गीय विभेद, बदलिँदो सामाजिक सोच र नयाँ पुस्ताका आकांक्षालाई कथामा समेट्ने बताइएको छ ।

निर्माण पक्षका अनुसार चलचित्रका अन्य कलाकार तथा प्राविधिक टोली छनोटको कामसमेत अन्तिम चरणमा पुगेको छ । मुख्य पुरुष कलाकारको नाम भने केही समयपछि सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।

निर्माण पक्षका अनुसार चलचित्रको छायांकन दशैंपछि फ्लोरमा जाने तयारी भइरहेको छ । मुख्य पुरुष कलाकारको औपचारिक घोषणा गरेपछि चलचित्रको निर्माणसम्बन्धी थप जानकारी सार्वजनिक गरिने बताइएको छ ।

रे अफ आर्ट प्रालिको ब्यानरमा निर्माण हुने ‘हाम्रो सानो घर’ निर्देशक सुमन गजमेरको पहिलो फिचर निर्देशकीय चलचित्र हो । गजमेरले यसअघि ‘रंगी’, ‘एक्का तीन : च्याप्टर १’, ‘शेर्वा’ लगायतका चलचित्रमा लेखकका रूपमा काम गरिसकेका छन् । उनले ‘कठपुतली’, ‘बाबरी’, ‘महापुरुष’ र ‘बलिदान’ लगायतका चलचित्रमा सहायक निर्देशकका रूपमा समेत काम गरेका छन् ।

गजमेरद्वारा लिखित तथा निर्देशित लघु चलचित्र ‘बत्तीको पुतली’ विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा छनोट भइसकेको छ ।

‘हाम्रो सानो घर’ मार्फत निर्देशकका रूपमा नयाँ यात्रा सुरु गर्न लागेका गजमेरले पूर्णिका सिजापतिलाई मुख्य अभिनेत्रीका रूपमा प्रस्तुत गर्न लागेका हुन् । चलचित्रको मुख्य पुरुष कलाकारको घोषणासँगै यसको स्टारकास्ट र कथाबारे थप जानकारी बाहिर आउने अपेक्षा गरिएको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti