अभिनेता कामेश्वर चौरासियालाई महिला र अभिनेत्री लक्ष्मी बर्देवालाई पुरुषको गेटअपको पोस्टर बाहिरिएपछि चर्चा र चासोको विषय बनेको फिल्म ‘परिवार’को टिजर सार्वजनिक भएको छ । रे अफ आर्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्मको टिजरको सुरुवातमा कामेश्वर र लक्ष्मीबीचको खटपट देखाइएको छ ।

लक्ष्मीले कामेश्वरलाई ‘तेरो विश्वासले मेरो परिवारको केही पनि वास्ता नगरीकन म भागेर आएँ के’ भन्दा कामेश्वरले ‘लग्जरियस लाइफ चाहिएको थियो भने पीआरवालासँग जानुपथ्र्यो कि तिमी’ भनेर जवाफ फर्काएका छन् । उनीहरुको संवादले पनि परिवारको मञ्जुरी विना नै विवाह गरेको बुझ्न सकिन्छ ।
यता छोरीको भूमिकामा देखिएकी पात्रले भने भगवानसँग बाबुआमालाई कहिल्यै पनि झगडा नगर्ने वातावरण नबनाइदिन आग्रह गरेकी छन् । त्यसपछिको दृश्य भने आफैंमा रोचक छ ।
सुतेर उठेका कामेश्वर र लक्ष्मी आ–आफ्नो शरीर छाम्दै आश्चर्यमा परेको देख्न सकिन्छ । उनीहरु किन आश्चर्यमा परे भन्ने थाहा पाउन चाहिँ कार्तिक १३ गते पर्खनै पर्ने हुन्छ । जुन दिन यो फिल्म रिलिज हुँदैछ ।
शाही फिल्म प्रोडक्सन र विशआई फिल्मस्सँगको सहकार्यमा निर्माण भएको फिल्ममा मदन थापाको निर्देशन छ । ‘कहिले श्रीमानको वार, कहिले श्रीमतीको वार, मिल्दै जाँदा बन्यो परिवार’ नारा बोकेको फिल्ममा कामेश्वर र लक्ष्मीसँगै विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, बारिश सोना र प्रियान्शु थापालगायतका कलाकारहरुको पनि अभिनय छ ।

फिल्ममा प्रेम थापा र गणेश उपाध्यायको लेखन, निरज कँडेलको डीओपी, विशेष महर्जन र जयन्द्र कुँवरको छायांकन, एनबी महर्जनको एक्सन छ । रमेश शाही निर्माता रहेको फिल्ममा कैलाश रावल कार्यकारी निर्माता र आरम्भ रिजाल सह–निर्माताको रुपमा छन् ।यो टिजर मिउजिक नेपालको युटुब च्यानलमा रहेको छ ।





