तिनीहरू कुहिरोभित्र हराउँदै गएको पहिचानको कथा तिनीहरू कुहिरोभित्र हराउँदै गएको पहिचानको कथा

फिल्म सकिएपछि पनि दर्शकको मस्तिष्कमा निरन्तर प्रश्नहरू उठाइरहन्छ: ‘हाम्रो समाजमा को साँच्चै पूर्ण नागरिक हो र को कुहिरोमा हराएको अदृश्य प्राणी ?’

अविनाशविक्रम शाहद्वारा निर्देशित चलचित्र ‘तिनीहरू’ अर्थात ‘एलिफ्यान्ट्स इन द फग’ ले यौनिक तथा लैंगिक अल्पसङ्ख्यक समुदायको दुखान्त कथामा भनेको छ । तर त्यो त्यतिमा सीमित छैन, यसले तराईको भूगोल र हुस्सु (कुहिरो) को पृष्ठभूमिमा पितृसत्तात्मक सामाजिक संरचना, राज्यको विभेदकारी संयन्त्र, मानव-प्रकृति द्वन्द्व र अस्तित्वगत संघर्षलाई एउटै धागोमा उनेर गहन आलोचनात्मक विमर्श प्रस्तुत गरेको छ ।

यसमा कुनै नाटकीय चरमोत्कर्ष वा स्पष्ट समाधान दिइएको छैन । निर्देशकले कथालाई अस्पष्ट र खुला अन्त्यमा छाडिदिएका छन् । उत्तर-आधुनिक कथावाचनको यो शैलीले दर्शकलाई मूकदर्शक वा मनोरञ्जन लिने उपभोक्ता मात्र बनाउँदैन, बरु कथाको अर्थ आफैँ खोज्न र आफ्नै सामाजिक परिवेशबारे सोच्न बाध्य पार्ने सक्रिय विचारकर्ता बनाउँछ ।

फिल्मको कथा पर्सा र चितवनको तराई क्षेत्र नजिकै बसोबास गर्ने ट्रान्सजेन्डर महिला पिरती र उनको सानो समूहको वरिपरि घुम्छ । यो समूह समाजबाट वहिष्कृत, आफ्नै परिवारबाट त्यागिएका र आर्थिक-सामाजिक रूपमा सीमान्तकृत मानिसहरूको एउटा ‘वैकल्पिक परिवार’ हो ।

कथाको मुख्य द्वन्द्व दुईवटा समानान्तर घटनाबाट सुरु हुन्छ– गाउँ नजिकैको जंगलबाट आउने हात्तीहरूको निरन्तर त्रास र पिरतीको समूहकी एक सदस्य अप्सराको रहस्यमयी बेपत्ता । फिल्मको आख्यानिक ढाँचा परम्परागत तीन-अंकको व्यावसायिक फर्म्याटमा आधारित छैन ।संसारमा आफूलाई ‘सामान्य’ दाबी गर्ने बहुसङ्ख्यक समाजले कुन हदसम्म अन्य वर्ग वा समूहहरूलाई नियन्त्रण गर्न खोज्छ भन्ने कुरा उनीहरूले निर्माण गरेको ज्ञान र सामाजिक नियमहरूले तय गर्छन् । परम्परागत र पितृसत्तात्मक संरचनाले ‘महिला’ र ‘पुरुष’ को ढाँचालाई मात्र ‘सामान्य’ र प्राकृतिक मान्छ भने त्यो ढाँचाभन्दा बाहिरका मानिसहरूलाई ‘असामान्य’ वा ‘विचलित’ का रूपमा वर्गीकृत गर्छ ।

यसै नीतिका कारण यौनिक तथा लैंगिक अल्पसङ्ख्यक समुदायलाई गाउँको मूल बस्तीभन्दा टाढा, जंगलको किनार वा जोखिमपूर्ण भू-गोलमा धकेलिन्छ । फिल्ममा पिरती र उनको समूहको भौतिक अवस्थितिले नै उनीहरूको उपेक्षित अवस्थाको जीवन्त चित्र प्रस्तुत गर्छ ।

कसको जीवन रक्षा गर्ने र कसको अस्तित्वलाई मूल्यहीन मान्ने– राज्य र समाजको यही नियन्त्रणमुखी चरित्रलाई फिल्मले सूक्ष्म रूपमा उजागर गरेको छ । आधुनिक राज्य संयन्त्र केवल ‘सामान्य’ मानिएका बहुसङ्ख्यक नागरिकको सुरक्षामा केन्द्रित देखिन्छ ।

गाउँबाट एक ट्रान्सजेन्डर महिला हराउँदा प्रहरी र प्रशासनले देखाएको उदासीनताले सीमान्तकृत समुदाय सुरक्षाको दायराभन्दा बाहिर रहेको पुष्टि गर्छ । राज्य र समाजले केही खास वर्गको जीवन र मृत्युलाई मात्र महत्त्व दिन्छन्; जबकि यौनिक अल्पसङ्ख्यकहरूलाई निरन्तर उपेक्षा र जोखिममा धकेलिदिन्छन् । यस्तो विभेदकारी संरचनाभित्र उनीहरूका लागि प्रत्येक दिन अस्तित्व जोगाउनु नै आफैँमा एउटा ठूलो संघर्ष बन्न पुग्छ ।

‘तिनीहरू’ (एलिफ्यान्ट्स इन द फग) नेपाली सिनेमामा यौनिक अल्पसङ्ख्यकको प्रतिनिधित्वको राजनैतिक र सौन्दर्यशास्त्रीय पुनर्परिभाषा हो । यसले सीमान्तकृत पात्रहरूलाई सस्तो सहानुभूति वा हाँसोको पात्रका रूपमा प्रस्तुत गर्ने परम्परागत दृष्टिकोणलाई पूर्ण रूपमा पन्छाएको छ ।

यस चलचित्रले नेपाली समाजको गहिरो विभेद, राज्यको उदासीनता, सामूहिक प्रतिरोध र मानिसभित्रको अस्तित्वगत असुरक्षालाई कुहिरो र हात्तीको विम्बमार्फत यसरी प्रस्तुत गरेको छ । जसले फिल्म सकिएपछि पनि दर्शकको मस्तिष्कमा निरन्तर प्रश्नहरू उठाइरहन्छ: ‘हाम्रो समाजमा को साँच्चै पूर्ण नागरिक हो र को चाहिँ कुहिरोमा हराएको अदृश्य प्राणी ?’

गम्भीर, विचारोत्तेजक, यथार्थवादी र अन्तर्राष्ट्रिय स्तरको नेपाली सिनेमा बुझ्न र अध्ययन गर्न चाहने हरेक दर्शक, शोधकर्ता र चलचित्रकर्मीका लागि ‘तिनीहरू’ एक अनिवार्य र ऐतिहासिक फिल्म हो ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti