आ बाट आमा २ को अन्तिम चरणको छायांकन हङकङमा हुँदै आ बाट आमा २ को अन्तिम चरणको छायांकन हङकङमा हुँदै

आगामी बडादशैँ (असोज ३०) मा देशव्यापी प्रदर्शनको तयारीमा रहेको बहुप्रतीक्षित चलचित्र ‘आ बाट आमा २’ को निर्माण टिम अन्तिम चरणको छायांकनका लागि हङकङ पुगेको छ। चलचित्रको बाँकी महत्वपूर्ण दृश्यहरूको छायांकन सम्पन्न गर्न मुख्य अभिनेता पल शाह, निर्देशक चन्द्र पन्त, अभिनेत्री रिश्ता गुरुङ तथा प्राविधिक टोली हङकङ पुगेको हो।

हङकङमा हुने सम्पूर्ण छायांकन व्यवस्थापन तथा लाइन प्रोडक्सनको सम्पूर्ण जिम्मेवारी खुसी इन्टरटेनमेन्टले सम्हालेको छ। खुसी इन्टरटेनमेन्टको चुस्त व्यवस्थापनमा हङकङका विभिन्न रमणीय तथा व्यस्त स्थानहरूमा फिल्मका मुख्य दृश्यहरू खिचिने निर्माण पक्षले जनाएको छ।

नेपालमा अधिकांश पारिवारिक र भावनात्मक दृश्यहरूको छायांकन सकिएपछि कथाको मागअनुसार प्रवासी परिवेश र परदेशी जीवनको यथार्थलाई पर्दामा उतार्न निर्माण टिमले हङकङको सेड्युल तय गरेको हो। निर्देशक चन्द्र पन्तका अनुसार हङकङमा पल शाह र रिश्ता गुरुङ जोडिएका केही विशेष ड्रामेटिक दृश्यहरू खिचिनेछ।

चाडपर्वको समयमा गाउँमा आमाले गर्ने पर्खाइ र सात समुद्रपारि परदेशमा सन्तानले भोग्ने बाध्यताबीचको भावनात्मक अन्तरसम्बन्धलाई चलचित्रको मुख्य मेरुदण्ड बनाइएको छ। हङकङको यो अन्तिम छायांकनले कथाको त्यही प्रवासी आयामलाई अझ प्रामाणिक र भव्य बनाउने निर्देशक पन्तले बताएका छन्। हङकङको सेड्युल सकिएलगत्तै टिम नेपाल फर्किएर तीव्र रूपमा पोस्ट-प्रोडक्सनको बाँकी काममा जुट्नेछ।

केही दिनअघि मात्र सार्वजनिक भएको चलचित्रको आधिकारिक टिजरले ३ दिनमै ४२ लाखभन्दा बढी भ्युज बटुलेर नेपाली सिनेमा इतिहासकै ‘सर्वाधिक हेरिएको टिजर’ बन्ने रेकर्ड कायम गरिसकेको छ भने मंगलबार रिलिज भएको पहिलो रोमान्टिक गीत ‘अचेल किन कान्छी’ ले समेत युट्युब र टिकटकमा व्यापक चर्चा कमाइरहेको छ।

आर्या इन्टरटेनमेन्टको प्रस्तुति रहेको यस चलचित्रमा पल शाह र रिश्ता गुरुङका साथमा विपना थापा, मलिका महत, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, साइग्रेस पोखरेल, निकिता आचार्य, गजित विष्ट, नरेन खड्का, दिलिप ओखेडा र स्वर्गीय प्रदीप रावतको मुख्य अभिनय रहेको छ।

रोशन भट्ट र चन्द्र पन्तको लेखन तथा करण सिंह कार्यकारी निर्माता रहेको यो चलचित्रलाई आरआर फिल्मस्ले नेपालभर वितरण गर्दैछ। हङकङको अन्तिम सेड्युलसँगै छायांकन पूरा गरी यो पारिवारिक चलचित्र आगामी २०८३ असोज ३० गते (बडादशैँ) देखि देशभरका सिनेमाघरहरूमा रिलिज हुनेछ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti