कस्तुरी प्रोडक्सन प्रा.लिको प्रस्तुति तथा क्लासिक सिने यूनिभभर्स प्रा.लिको सहकार्यमा निर्माण हुन लागेको नयाँ फिल्म ‘सिन्दूर’को छायांकन आजबाट सुरु भएको छ ।

पश्चिम नेपालको दाङ जिल्लाबाट फिल्मको छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको छ । लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा तयार हुन लागेको यो फिल्ममा सञ्जीव सार्कीको लगानी रहनेछ । लक्ष्मणले यसअघि निर्देशन गरेका ‘बुलाकी र परालको आगो’ सर्वाधिक चर्चामा थिए । फिल्मका कार्यकारी निर्माता दिनेश सिंह महरा हुन् ।
संकल्प भुजेलको छायांकन रहने यो फिल्ममा प्रशान्त सिवाकोटी, श्रीकृृष्ण बम मल्ल र दिनेश ढकालको संगीत रहनेछ । प्रकाश हमाल निर्माण प्रमुख रहेको फिल्ममा करण बहादुर साउदको मुख्य सहायक निर्देशन, रामजी लामिछानेको नृत्य निर्देशन रहने पक्का भएको छ ।
फिल्ममा नायक पुष्प खड्का र नायिका प्रशंसा रायमाझीको जोडीलाई पर्दामा हेर्न पाइनेछ । एक महिनाको सेड्यूल तयार गरेर छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको छ ।
यो फिल्मले सामाजिक कथावस्तुलाई उठान गरेको छ । एक महिलाका लागि सिन्दूरको महत्व कति छ भन्ने कथालाई यो फिल्मले उठान गर्नेछ ।







