टनेल २६मा जम्बीको आतंक अनुपले सुनाए वास्तविक टनेलको सुटिङ अनुभव टनेल २६मा जम्बीको आतंक अनुपले सुनाए वास्तविक टनेलको सुटिङ अनुभव

अभिनेता अनुप बिक्रम शाहीले ‘टनेल २६’ नेपाली फिल्म उद्योगकै पहिलो जम्बी फिल्म भएको दाबी गरेका छन्।

फिल्मबारे कुरा गर्दै अनुपले ‘टनेल २६’मा नेपाली फिल्ममा यसअघि खासै नदेखिएको विषयवस्तु प्रस्तुत गरिएको बताए। उनका अनुसार फिल्ममा हरर, मिस्ट्री, सस्पेन्स र थ्रिलरको मिश्रण रहेकाले यी विधा मन पराउने दर्शकका लागि फिल्म विशेष बन्न सक्छ।

‘हामीले यसमा एउटा बिल्कुलै भिन्न कथा लिएका छौँ। यो जम्बी विधामा बनेको फिल्म हो। नेपाली फिल्म उद्योगको इतिहास हेर्दा पहिलोपटक हामीले जम्बी फिल्म बनाउने प्रयास गरेका छौँ। त्यसैले विशेषगरी हरर, मिस्ट्री, सस्पेन्स र थ्रिलर मन पराउने दर्शकलाई यो फिल्म अवश्य मन पर्छ जस्तो लाग्छ,’ उनले भने।

भारत, भुटान र नेपालको सहकार्यमा निर्माण भएको ‘टनेल २६’ असोज २३ गते अर्थात् अक्टोबर ९ मा रिलिज हुँदैछ।

फिल्म तीन देशको सहकार्यमा निर्माण भए पनि यसलाई भुटानी फिल्मका रूपमा बुझ्न नहुने अनुपले स्पष्ट पारे। उनका अनुसार नेपालमा फिल्म नेपाली भाषामा, भुटानमा भुटानी भाषामा र भारतमा त्यहाँको भाषाअनुसार डब गरेर रिलिज गरिनेछ।

‘यो भारत, भुटान र नेपालको सहकार्यमा बनेको फिल्म हो। नेपालमा रिलिज हुँदा निश्चित रूपमा नेपाली भाषामा रिलिज हुन्छ भने भुटानमा भुटानी भाषामा हुन्छ,’ उनले भने, ‘त्यसैले नेपालमा रिलिज हुने हिसाबले यो हाम्रो आफ्नै नेपाली फिल्म हो।’

भाषाअनुसार डब हुँदैमा फिल्मको पहिचान परिवर्तन नहुने उनको तर्क छ। ‘हामीले धेरै भारतीय फिल्म पनि नेपालीमा डब गरेर हेर्ने गरेका छौँ। तर भाषा परिवर्तन हुँदैमा त्यो भारतीय फिल्म हुन छोड्दैन,’ उनले भने।

वास्तविक टनेलभित्र गरिएको सुटिङका क्रममा निकै कठिन अनुभव भए पनि अहिले फिल्मको टिजरले पाइरहेको प्रतिक्रिया र दर्शकको उत्साहले ती सबै दुःख बिर्साएको अनुपले बताए।

‘टनेल २६’को टिजरले राम्रो प्रतिक्रिया पाइरहेको र फिल्मप्रति दर्शकको कौतुहलता बढ्दै गएको उनको भनाइ छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti