घटस्थापनाको साइत पारेर भुवन केसीको निर्देशनमा निर्माण भएको फिल्म ‘बाटुलो जुन’को पहिलो गीत ‘मेरो मन चोर्यौ सुटुक्कै’ सार्वजनिक गरिएको छ । गीतमा युग भुसालको शब्द तथा संगीत, तृषा चटर्जी र हिमांशु जान शर्माको स्वर छ । गीतको भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका हुन्।
भुवन केसीका फिल्म निर्माणको भव्यताका लागि चिनिन्छिन् । यही भव्यता भित्र पर्छन् उनले छान्ने गीत र तिनको छायांकनमा देखिने उदारता । ‘मेरो मन चोर्यौ सुटुक्क’मा पनि उनले त्यही आफ्नो पुरानो छविलाई निरन्तरता दिएका छन् । गीतको अडियो त श्रुतिमधुर छ नै भिडियो पनि उत्तिकै रोचक तरिकाले निर्माण गरिएको छ । आम गीतभन्दा यो गीतको भिडियोले टिजरमा देखिएको कथा र कथाको परिवेशलार्ई अगाडि बढाउने काम गरेको छ । गीतमा देखिने खोला किनार, घुम, डन्डिबियो र मकैघारी जस्ता छायांकनस्थलले दर्शकलाई पुरानो समयमा फर्काएका छन्।
गीतमा फिल्मका मुख्य २ कलाकार नायक अनमोल केसी र नव–नायिका प्रिन्सी खतिवडा फिचर्ड छन् । टिजरमा अनमोलको लुक सार्वजनिक भएसँगै धेरैले उनलाई उनकै पिता भुवन केसीको झल्को आएको प्रतिक्रिया दिएका थिए । यो गीतले त्यो धारणालाई अझ बल पुर्याउने अनुमान गर्न सकिन्छ । किनकी गीतमा अनमोलको अदाले भुवन केसीकै पुराना गीत हेरेको महसुस गराउँछन् । यही फिल्मबाट डेब्यु गरेकी प्रिन्सीले पनि यत्तिकै भुवन केसीको छनौटमा परेको हैन है भन्ने छनक दिएकी छिन् । गीतका शब्द शब्दमा उनले देखाएको एक्सप्रेसन र अदाले पुरानो समयकी कृष्टि केसीको झल्को दिएका छन्।
भुवन केसीको दोस्रो निर्देशकीय भूमिका रहेको चलचित्रमा भुवन केसी र गरिमा पन्तको पनि अभिनय छ । सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको यो फिल्म आगामी कार्तिक २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । चलचित्रमा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन, रोमन बज्राचार्यको पार्श्व संगीत छ । फिल्ममा प्रदीप श्रेष्ठ एसोसिएट निर्देशकको रुपमा रहेका छन् । यो फिल्मलाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् । विवेक थापा चलचित्रका सह–निर्माता हुन् ।







