दसैंको मौका छोपेर चारवटा नेपाली फिल्म तँछाडमछाड गर्दै प्रदर्शनमा आए । कोभन्दा को कम शैलीमा आएका यी फिल्महरूको ओठतालु त्यसबेला सुक्यो, जब अपेक्षाअनुसार टिकट बिक्री गर्न सकेनन् । जबकि यसरी प्रदर्शनमा आएका फिल्महरू सिक्वेल थिए, जसको पहिलो भाग धुमधामसँग चलेको थियो ।
चलचित्र विकास बोर्डले सार्वजनिक गर्ने बक्स अफिस रिपोर्टअनुसार हालसम्म ‘कबड्डी’ले १० करोड ७६ लाख ७३ हजार ७१५ रुपैयाँ कमाइ गरेको छ । उसले ३ लाख ४६ हजारभन्दा बढी टिकट बिक्री गरेको छ ।
यो लस्करमा ‘आ बाट आमा’, ‘छ माया छपक्कै’, ‘१२ गाउँ’ र ‘कबड्डी’ थिए । ‘कबड्डी’को यो पाँचौँ संस्करण थियो भने बाँकी फिल्मको नामसँग ‘२’ अंक जोडिएको थियो । अर्थात् ती तीन फिल्मका दोस्रो सिक्वेल थिए ।
यी फिल्महरूको अंकगणित त्यति उत्साहजनक देखिएन । केही दिनको अघिपछि गरेर हलमा आएको ‘कबड्डी’ले भने सुरुवाती प्रदर्शनमा राम्रै संकेत देखायो । तुलनात्मक रूपमा उच्च शो पाएको ‘कबड्डी : आफ्टर द फाइनल म्याच’ले अन्ततः १० दिनमा १० करोड कमाइ गर्दै अरूलाई पछाडि पारेको छ ।
यसपछिको सूचीमा छ, ‘आ बाट आमा-२’ । यसको हालसम्मको कमाइ ६ करोड २४ लाख ७० हजार रुपैयाँभन्दा बढी छ । यस्तै, ‘बा एक योद्धा’ले ३ करोड ५४ लाख रुपैयाँभन्दा बढी कमाइ गरेको छ । त्यसपछि ‘छ माया छपक्कै-२’ले ३ करोड ३४ लाख रुपैयाँ कमाएको छ ।
यो सूचीको अन्तिममा छ, ‘१२ गाउँ-२’ । यो फिल्मले २ करोड २९ लाख रुपैयाँभन्दा बढी कमाइ गरेको छ ।
रमाइलो संयोग चाहिँ के भने दयाहाङ राई केन्द्रीय भूमिकामा रहेको ‘कबड्डी’लाई दयाहाङ अभिनित अर्को फिल्म ‘पेन्सन पट्टा’ले पछ्याइरहेको छ । उक्त फिल्मले १० करोड २८ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।
हालसम्म प्रदर्शनमा आएका फिल्ममध्ये ‘गौंथली’ शीर्षस्थानमा छ । यो फिल्मले २६ करोड ७ लाख रुपैयाँभन्दा बढी कमाएको छ ।



