सारथीको प्रोमोमा निरुता सिंहको गम्भीर र फरक अवतार सारथीको प्रोमोमा निरुता सिंहको गम्भीर र फरक अवतार

अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर अवतारमा प्रस्तुत गर्दै सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक गरिएको छ । किम्भे प्रोडक्सनको आधिकारिक युट्युब च्यानलमार्फत सोमबार सिनेमाको प्रोमो सार्वजनिक गरिएको हो ।

बच्चाको रोदन आवाजसँगै सुरु भएको प्रोमोमा अभिनेत्री निरुता सिंहलाई काखमा दुधे बालक बोकेको अवस्थामा देख्न सकिन्छ । गम्भीर मुद्रामा प्रस्तुत निरुताको पैतालाबाट रगत बगिरहेको दृश्यले प्रोमोलाई थप रहस्यमय र भावुक बनाएको छ । यसले यसअघिका भूमिकाभन्दा फरक अवतारमा देखिएकी निरुताको प्रस्तुतिले सिनेमाको कथावस्तुबारे दर्शकमाझ कौतुहलता बढाउने देखिन्छ ।

निरुता सिंहसँगै सिनेमामा कलाकारहरू उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीको अभिनय रहेको छ ।

संकल्प भुजेलले छायांकन गरेको सिनेमा म्याग्दीको गुर्जा क्षेत्रमा छायांकन गरिएको छ । सिनेमा किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन् ।

आगामी मंसिर ११ गतेदेखि प्रदर्शन हुने सिनेमा कुमार गजुरेलले निर्देशन गरेका हुन् । रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको सिनेमाका कार्यकारी निर्मातामा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ छन् ।

सिनमाका सह-निर्मातामा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा छन् भने अमीर केसीले लाइन प्रोड्युसरको जिम्मेवारी सम्हालेका छन् ।

राजु खतिवडा मुख्य सहायक निर्देशक रहेका सिनेमामा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशकका रूपमा छन् । बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको सिनेमा आरआर फिल्म्सले वितरण गर्नेछ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti