बाटुलो जून’मा समावेश पानी पर्‍यो गीत सार्वजनिक बाटुलो जून’मा समावेश पानी पर्‍यो गीत सार्वजनिक

गत हप्ताबाट नेपालसँगै विश्व बजारमा एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘बाटुलो जून’मा समावेश ‘पानी पर्‍यो’ बोलको गीत सार्वजनिक भएको छ । निर्माण टिमले चलचित्र प्रदर्शनमा आएको हप्ता दिनपछि रोमान्टिक गीत युट्युब रिलिज गरेको हो ।

गीतमा दुई पुस्ताको प्रेमकथालाई दृश्यात्मक रूपमा देखाइएको छ । अभिनेता अनमोल केसी र अभिनेत्री प्रिन्सी खतिवडाले पछिल्लो पुस्ताको प्रेमिल भावलाई प्रतिनिधित्व गर्दा निर्देशक समेत रहेका अभिनेता भुवन केसी र अभिनेत्री गरिमा पन्तबीच अधबैंशे प्रेम देख्न सकिन्छ ।

नेपाली चलचित्र क्षेत्रमा सदाबहार स्टारको उपमा पाएका अभिनेता भुवन केसी बर्षौंपछि रोमान्टिक अबतारमा दर्शकमाझ देखिएका छन् । पुराना नेपाली चलचित्रका’रोमान्टिक हिरो’ भुवन केसी नेपाली म्युजिक भिडियो इतिहासमा पहिलो मोडल भनेर चिनिन्छन् ।

सार्वजनिक गीतले चलचित्रको समग्र कथालाई पूर्णताको मिठास प्रदान गरेको निर्माण टिमले बताएको छ। निर्देशक केसी भन्छन्: ‘यो गीत चलचित्रको उत्कृष्ट प्रस्तुतिमध्येको एक हो, जसले स्वादिष्ट भोजनपछिको मिठासिलो परिकार (डेजर्ट) को अनुभूति गराउँछ ।’  

सनराइज पिक्चर्स प्राली र भविष्य फिल्मस् को ब्यानरमा बनेको ‘बाटुलो जून’लाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् । चलचित्रमा नेन्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रेअर राई, श्वेता मिश्र, सुजन भाई, सविन कट्टेल, सिद्धार्थ सिंह, अमितेश शाह, हीना नगरकोटी र संगी अधिकारी पोखरेलसमेत अभिनयमा छन् । विवेक थापा फिल्मका सह- निर्माता हुन् ।

कृष्ण भण्डारी सम्पादक रहेको चलचित्र लेखनमा सामीप्यराज तिमल्सेनासँग सरिन पोखरेलले सहकार्य गरेका छन् । यो चलचित्रमा पार्श्व संगीत रोमन बज्राचार्यको छ भने प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक छन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti