सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुत स्टारर फिल्म ‘परालको आगो’को प्रदर्शन मिती तय गरिएको छ । बिहिबार निर्माण टिमले फिल्मको पहिलो पोस्टर रिलिज गर्दै प्रदर्शन मिती समेत तय गरेको हो।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य तीन पात्र सुहाना, सौगात, र प्रकाशलाई देख्न सकिन्छ । तीनै पात्र निकै गम्भीर भावभंगिमामा देखिन्छन् । जहाँ सुहानाको सिउँदोमा सिन्दुर,अनि निधारमा टीका लगाएकी छन् । तर पनि उनको मन खुशी छैन भन्ने भाव पोस्टरमा झल्किन्छ । यता प्रकाश सपुत घुम ओडेर रसिला आँखा पारेका छन् । प्रकाश र सौगात मल्लको अनुहार रुन्चे देखिन्छ । यि तिनै पात्रले फिल्मको कथावस्तु रहस्यमय र सामाजिक द्वन्द्वमा आधारित रहेको संकेत गरेको छ।
लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको यो फिल्ममा ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई फिल्मले उठान गर्ने अनुमान गरिएको छ। पोस्टरमा देखिएको आगोको झिल्को र अँध्यारो पृष्ठभूमिले कथा प्रतीकात्मक रूपमा ‘परालको आगो’ जस्तै सानो कारणले ठुलो परिणाम निम्त्याउने विषयवस्तुमा केन्द्रित हुनसक्ने संकेत गर्छ।
यस फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी,ज्याक श्रेष्ठ,सरिता भण्डारी,रेणु न्यौपाने,बाल कलाकार मन्जिला बाँनिया लगायतले अभिनय गरेका छन् । हरि ॐ सिने मेकर्स प्रा.लिको निर्माणमा बनेको यस फिल्मका निर्माता सुशील पोखरेल हुन्। सुशील देवकोटाले लेखेको यस फिल्ममा छायाँकार संकल्प भुजेल,नृत्य निर्देशन रामजी लामिछाने,सम्पादन मिलन श्रेष्ठ, रंग संयोजक कनाल कँवर रहेका छन्।

फिल्ममा भेषभूषा डिजाइन सुजन परियार,श्रृंगारको जिम्मा मदन न्यौपानेले गरेका छन् भने केश विन्यासमा रोनिशा अधिकारी रहेकी छन्। यस फिल्मको पोस्टर निर्माण आइडियल डिजाइनर्सले गरेको हो भने कला निर्देशकका रुपमा प्रतिक चौधरी रहेका छन्। मुख्य सहायक निर्देशक करण बहादुर साउद रहेका छन् भने निर्माता सुलभी पोखरेल, सत्यम पोखरेल छन्। यस फिल्मको वितरण आर फिल्मसले गर्दैछ भने ओएसआर ओटीटी राईट लिइसकेको छ।





