भोटेकोसीमा आएको बाढीका कारण केही दिनमै मञ्चन रोकिएको नाटक ‘वीर गणेशमान’ फेरि मञ्चन हुने भएको छ। मंसिर ४ गतेदेखि १९ गतेसम्म कालिकास्थानको सर्वनाम थिएटरमा नाटक मञ्चन गरिनेछ। मञ्चनअघि निर्माण पक्षले नाटकको औपचारिक ट्रेलर पनि युट्युबमा सार्वजनिक गरेको छ।

गणेशमान सिंह फाउण्डेसनको आयोजना र सर्वनामको प्रस्तुतिमा तयार भएको नाटकको परिकल्पना, नाट्यरूपान्तरण र निर्देशन वरिष्ठ रङ्गकर्मी अशेष मल्लको हो। नाटकमा सामान्यतया ट्रेलर बन्ने र सार्वजनिक गरिने चलन विरलै हुने भए पनि यसको ट्रेलर औपचारिक रूपमै तयार गरी दर्शकका लागि युट्युबमा राखिएको हो।
नाटक बिहीबार बाहेक हरेक दिन साँझ ५ बजे प्रदर्शन हुनेछ। शनिबार दिउँसो १ बजे अतिरिक्त शो राखिएको छ।
सत्ता र शक्तिका अगाडि नझुकेका क्रान्तियोद्धा गणेशमान सिंहको जीवन र संघर्षमा आधारित नाटकले १०३ वर्ष लामो राणाशासनविरुद्ध नागरिक अधिकारका लागि उनले देखाएको साहसलाई प्रस्तुत गर्छ।
जन्मकैदको सजाय पाएका गणेशमान भद्रगोल जेलबाट भागेको घटना र २०४६ सालको जनआन्दोलनपछि प्रधानमन्त्रीको पद त्यागेको ऐतिहासिक क्षण नाटकमा समेटिएको छ। स्क्रिप्ट सम्पादन प्रा. डा. सावित्री कक्षपतीले गरेकी हुन्। करिब दुई घण्टा लामो नाटकमा निर्देशक मल्लले ५० वर्षको नाट्ययात्रामा पहिलोपटक बिम्ब र प्रतीकको शैली छाडेर यथार्थपरक प्रस्तुति अँगालेका छन्।नाटकमा वीर गणेशमानको भूमिका अभिनेता अभयराज बरालले निभाएका छन्। पहिलेको मञ्चनमा उनको निकै प्रशंसा भएको थियो। उनमा ठ्याक्कै गणेशमानकै आकृति झल्किएको भन्ने प्रतिक्रिया आएको थियो।
नाटकमा नुषा लिङ्देन लिम्बू, माया मानन्धर, मीना पूर्णिमा, मनिष अर्याल, राम दाहाल, राजन मोक्तान, दुर्लभ सिंह कार्की, निश्चल डी इन्फिनिटी, रमेश वज्राचार्य, प्रदीप भट्ट, अरमान शाही, अनिश बोगटी, शिशिर घर्ती मगर, दिवस गौतम, भक्त श्रेष्ठ, निर्मल शाही, समीर आचार्य, शाश्वत सापकोटा, रुबिन सुनार र रोलेक्स राईको पनि अभिनय छ।

भदौमा सर्वनाम थिएटरमा भएको नाटकको प्रिमियरमा गणेशमान सिंहका छोरा प्रकाशमान सिंहले आजको युवा पुस्ताले नेपालमा पूर्ण प्रजातन्त्र कसरी आयो र गणेशमानको योगदान कस्तो थियो भन्ने बुझ्न यो नाटक अनिवार्य हेर्नुपर्ने बताएका थिए।



