प्रदर्शनको तयारीमा रहेको नेपाली हास्यप्रधान चलचित्र ‘ककाकिकी’को एडभान्स बुकिङ खुला भएको छ। देशभरका विभिन्न सिनेमाघरले चलचित्रको अग्रिम टिकट बुकिङ सुरु गरेका छन् भने केही हलमा बुकिङ खुल्ने क्रम जारी छ।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्ससँगै वान सिनेमाज, आईएनआई सिनेमाजलगायतले एडभान्स बुकिङ खुला गरेका छन्। दर्शकले खल्ती र ईसेवा एपमार्फत अनलाइन टिकट काट्न सक्नेछन्। त्यस्तै, क्युएफएक्सको आधिकारिक वेबसाइटबाट पनि टिकट बुक गर्न सकिनेछ।
एडभान्स बुकिङ खुला भएसँगै दर्शकले चलचित्रका लागि अग्रिम टिकट काट्न थालेका छन्। खल्ती एपमा उपलब्ध विवरणअनुसार बिहीबार दिउँसो १२ बजेसम्म चलचित्रका लागि ६४ शो उपलब्ध देखिएका छन्। विभिन्न हलमा शो थपिने क्रमसमेत जारी रहेकाले प्रदर्शन मिति नजिकिँदै जाँदा शो संख्या अझै बढ्ने अपेक्षा गरिएको छ। गएको मंगलबार काठमाडौंमा आयोजित ग्राण्ड प्रिमियरबाट चलचित्रले उत्कृष्ट प्रतिक्रिया पाएको थियो । बिशेषगरी चलचित्रको प्रस्तुतीकरण र कथाको तारिफ गरिएको थियो ।
को–कोछन्चलचित्रमा ?
बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशनमा बनेको चलचित्रमा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल, प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बीटी कान्छा), एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायत कलाकारको अभिनय रहेको छ।
श्रद्धा प्रसाईं र सुमित्रा थापा चलचित्रका निर्माता हुन्। सुमन अग्रवालको कन्सेप्ट रहेको चलचित्रको लेखन बिक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीले गरेका हुन्। विश्वास तिमल्सिना (बीटी कान्छा)ले स्क्रिप्ट डक्टरको जिम्मेवारी सम्हालेका छन्।
सुदीप बराल चलचित्रका छायांकार हुन्। मुख्य सहायक निर्देशक अनिश बुढाथोकी र सहायक निर्देशक विशाल राई रहेका छन्। मेकअपमा अनिश तामाङ, कस्ट्युम डिजाइनमा सुमन परियार र प्रोडक्सन हेडमा अरुण रेग्मी छन्।
चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ भने अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज इन्टरनेशनलले लिएको छ।
‘ककाकिकी’ मंसिर ११ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुँदैछ।



