मल्टिस्टारर फिल्म ‘आ बाट आमा २’ को अग्रिम टिकट बुकिङ खुला भएको छ । चन्द्र पन्त निर्देशित फिल्मलाई हलहरुले राम्रो शो उपलब्ध गराएका छन् ।
यो शुक्रबार बाट प्रदर्शनमा आउने बहुप्रतीक्षित फिल्मलाई चलचित्र जाँच पास समित सेन्सर बोर्डले भने ‘पीजी’ प्रमाणपत्र दिएको छ । ‘पीजी’ प्रमाणपत्र पाएसँगै अब यो फिल्म हेर्नका लागि १६ वर्षभन्दा कम उमेरका दर्शकहरूले आफ्ना अभिभावकलाई साथमा लैजानुपर्ने छ।
फिल्म बढी इमोश्नल भएर सेन्सरले उक्त सर्टिफिकेट दिएको निर्देशक चन्द्र पन्तले बताएका छन् । निर्देशक पन्तकै कथा तथा निर्देशनमा निर्माण भएको यस फिल्ममा विपना थापा, पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलिप अखेडा लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।
पारिवारिक प्रेम, सम्बन्धको मिठास तथा आमा र सन्तानको भावनात्मक सम्बन्धको कथामा आधारित यस फिल्मका गीत, टिजर तथा ट्रेलरले दर्शकमाझ राम्रो हाइप निर्माण गरिसकेका छन्। फिल्मको ट्रेलरले रिलिज भएको एकै दिनमा ३७ लाखभन्दा बढी भ्युज कमाइसकेको छ भने दसैँ गीत ‘क्या दामी देखिया’ ले ६ दिनमै ४३ लाखभन्दा बढी भ्युज प्राप्त गर्दै दर्शकको अत्यधिक साथ पाएको छ। त्यसैगरी, यसअघि सार्वजनिक भएको गीत ‘अचेल किन कान्छी’ ६४ लाख पटक हेरिइसकेको छ भने फिल्मको टिजरले पनि उस्तै बलियो साथ पाएको छ।
फिल्मको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद पनि रोशन भट्टकै रहेको छ। नवराज उप्रेतीको छायाङ्कन, बाबुल गिरीको सङ्गीत तथा गम्भीर बिष्टको नृत्य निर्देशन रहेको यस फिल्मका प्रोडक्सन एक्जिक्युटिभ करण सिंह हुन्। साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ भने नेपालभर वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ।







