अभिनेता कर्मा शाक्य र अभिनेत्री परीक्षा लिम्बुका लागि आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘हिमालयन गोल्ड’ विशेष बनेको छ । फरक कथावस्तु, हिमाली परिवेश र चुनौतीपूर्ण चरित्रका कारण दुवै कलाकारले यस फिल्मलाई आफ्नो करियरको नयाँ अनुभवका रूपमा लिएका छन् ।

‘मेरो चरित्र नै नेगेटिभ सेडको छ । पहिलाको चलनचल्तीको भाषामा भन्नुपर्दा गुण्डाको छ । तर म त्यसलाई त्यसरी लिँदिनँ, किनकि यो एउटा पात्र हो । संयोगवश त्यो पात्रले आफ्नो परिस्थितिअनुसार काम गरेको हुन्छ,’ कर्मा भन्छन् । उनका अनुसार फिल्ममा उनको पात्रले यार्सागुम्बा लुट्नेदेखि अन्य आपराधिक गतिविधिसम्म गर्छ । यसअघि फिल्म ‘लुट’ मा बैंक लुट्ने पात्रको भूमिका निर्वाह गरेका कर्मा कुनै पनि चरित्रलाई उसको परिस्थितिबाट अलग गरेर हेर्न नहुने बताउँछन् ।
फिल्ममा कर्मा ‘प्रकाश’ नामक नकारात्मक चरित्रमा देखिँदैछन् भने परीक्षा ‘सोनाम’ को भूमिकामा छिन् । कर्माका लागि यो चरित्र उनका यसअघिका केही फिल्ममा देखिएका खलपात्रभन्दा फरक अनुभव हो । उनी आफ्नो चरित्रलाई पुरानो भाषामा ‘गुण्डा’ भन्न रुचाउँछन् । यद्यपि, उनको बुझाइमा पात्रले गर्ने काम उसको परिस्थिति र अवस्थाले निर्धारण गर्छ ।
सोनाम पात्रलाई बुझ्न उनले त्यसको सोचाइ, व्यवहार, परिस्थिति र निर्णयपछाडिका कारणलाई केलाउने प्रयास गरेकी छन् । यसका लागि निर्देशक धिराज राजवंशीसँग चरित्रबारे लामो छलफलसमेत भएको थियो । परीक्षाका अनुसार टिमको सहयोग र निर्देशकको स्पष्ट भिजनले पात्रलाई पर्दामा उतार्न सहज बनाएको हो।
अभिनेत्री परीक्षा भने ‘सोनाम’ पात्रलाई फिल्मको महत्वपूर्ण आधारका रूपमा लिन्छिन् । उनका लागि हिमाली परिवेशमा आधारित कथामा काम गर्नु नयाँ अनुभवसँगै चुनौती पनि थियो । आफूले यसअघि प्रत्यक्ष रूपमा नभेटेको र नदेखेको परिवेश तथा पात्रलाई पर्दामा उतार्नुपर्ने भएकाले सुरुमा उत्साहसँगै केही नर्भसनेससमेत भएको उनी सुनाउँछिन् ।
‘म उत्साहित पनि थिएँ र अलिकति नर्भस पनि’ उनी भन्छिन्, ‘यस्तो परिवेशको कथा र चरित्र दर्शकमाझ आउनुपर्छ भन्ने लागेको थियो । हिमाली भेगको कथामा मैले आफूलाई कहिल्यै एक्सप्लोर गरेकी थिइनँ । त्यसैले यो चरित्र मेरा लागि चुनौतीपूर्ण थियो ।’
निर्माण टिमका अनुसार नेपाली फिल्मले ए ए फिल्म्सजस्तो प्रतिष्ठित कम्पनीमार्फत भारतव्यापी प्रदर्शनको अवसर पाउनु महत्वपूर्ण उपलब्धि हो । थडानीले फिल्मको कथावस्तुले भाषा र भौगोलिक सीमाभन्दा बाहिरका दर्शकसँग पनि जोडिन सक्ने विश्वास व्यक्त गरेका छन् ।
मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने ‘हिमालयन गोल्ड’ लाई कर्मा र परीक्षाले फरक कथावस्तु, नयाँ चरित्र र अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने सम्भावनासहितको विशेष फिल्मका रूपमा लिएका छन् ।



