फिल्म ‘मोहर’ले सिनेपाः बक्सअफिसमा उत्साहजनक कमाइ गर्न सफल भएको छ । प्रदर्शनको २६ दिनसम्म फिल्मको कमाइ ५ करोड रुपैयाँ ग्रसको नजिक पुगेको रिपोर्ट छ।

मंगलबार (१७ भदौ)सम्म कमाइ ४ करोड ९२ लाख रुपैयाँ ग्रस छ । फिल्मले हल्का पिकअप लिए आगामी सप्ताहन्तको छेकोमा ५ करोडको आँकडा छुने प्रक्षेपण गर्न सकिन्छ । अहिले पनि यो फिल्मको देशब्यापी शोज संख्या सुखद देखिएको छ । १ करोड ८६ लाख रुपैयाँ बजेटको फिल्मले बक्सअफिसबाटै लगानी सुरक्षित गरेको देखिएको छ । फिल्मले सुखद् व्यापार गरेपछि पल शाह, बेनिशा हमाल र नीति शाह मोफसल यात्रामा निस्किएका छन् । मोहर स्टार चितवन, नवलपरासी, दाङ र नेपालगञ्ज पुगेका हुन् ।

ओम प्रतिक निर्देशित फिल्म मोहरलाई चुम्बन जंग शाहीले निर्माण गरेका हुन् । फिल्ममा पल, बेनिशा र नीति सँगै अर्जुन जंग शाही, मिथिला शर्मा, लक्ष्मी गिरी, रविन्द्र झा लगायत अन्य कलाकारहरुको अभिनय छ । फिल्मलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।