कात्तिक ७ मा विल्सनको ‘मैझारो’ : पोस्टरमा मिरुना, धिरज र दिया कात्तिक ७ मा विल्सनको ‘मैझारो’ : पोस्टरमा मिरुना, धिरज र दिया

विल्सन विक्रम राई निर्देशित फिल्म ‘मैझारो’ को दुई पोस्टर सार्वजनिक गरिएको छ । बिहीबार निर्माण पक्षले फरक लुक्स भएका दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिती समेत तय गरेको हो।

पहिलो पोस्टरमा मुख्य कलाकार धिरज मगर, मिरुना मगर र दिया पुन देखिएका छन् । धिरज र मिरुनाले राई समुदायको पहिरनमा ढोल सहितको दृश्य दिएका छन् भने दिया पुन लिम्बू समुदायको ढाका साडीमा प्रस्तुत भएकी छन् । पोस्टरले फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको संकेत गर्छ ।

दोस्रो पोस्टरमा धिरज र मिरुना प्रेमिल मुद्रामा फलैचामा बसेका छन् । धिरजले बन्चरो समातेका छन् भने मिरुना कुर्ता–सुरुवालमा उनीतर्फ नजर लगाइरहेकी छन्, जसबाट उनीहरूबीचको प्रेम सम्बन्ध प्रस्ट हुने देखिन्छ।

विल्सन विक्रम राईको कथा तथा निर्देशनमा बनेको फिल्ममा पूर्वी पहाडको प्राकृतिक सौन्दर्य र मानव सम्बन्धलाई उजागर गर्ने प्रयास गरिएको छ । फिल्ममा धिरज, मिरुना र दियासँगै बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बुको अभिनय रहेको छ ।

‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भइरहेको फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत रहेको छ । मित्र डी गुरुङको सम्पादन राजेशपायल राई, झुमा लिम्बू, मेलिना राई अस्मिता अधिकारी र अनमोल गुरुङको स्वरमा गीत समावेश छन् ।

फिल्मको छायांकन सौरभ लामाले गरेका छन् । वितरण अधिकार आरआर फिल्मले लिएको छ भने डिजिटल स्ट्रिमिङ अधिकार ओएसआरले खरिद गरेको छ । यस फिल्म मार्फत कलाकार विल्सन विक्रम राई पहिलो पटक लेखन तथा निर्देशनमा उत्रिदैछन्। उनले यसअघि पनि ‘तक्मे प्रोडक्सन’ बाट फिल्म निर्माण गरेका थिए ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti