अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको फिल्म ‘मितज्यु’अरुण पुन मगर अनुबन्धित भएका छन् । उनलाई निर्माण टिमले बिहिबार फिल्मका लागि अनुबन्ध गरेको हो । यसअघि अरुणले फिल्म ‘खुश्मा’मा अभिनय गरेका थिए ।

यसअघि यो फिल्ममा अभिनेता सौगात मल्ल, दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुबन्ध भइसकेका छन् । अरुणको उपस्थितिले फिल्मलाई थप बलियो बनाउने निर्माण पक्षको भनाई छ।
यस फिल्मको कथा महेश राईको रहेको छ भने निर्माता जनक घर्ती मगर हुन् । यसअघि उनले ‘घरज्वाइँ’ निर्माण गरेका थिए। निर्देशक अनिल र जनकको यो दोस्रो सहकार्य हो । फिल्मको सिनेमाटोग्राफीमा शिशिर बिशङ्खे रहनेछन् भने ‘जि.एम. मुभिज प्रोडक्सन प्रा.लि.’को ब्यानरमा यो फिल्म निर्माण हुँदैछ।
मंसिरको दोस्रो हप्ताबाट रोल्पा लगायत स्थानबाट छायांकन गरिने निर्माण पक्षको भनाई छ । यो फिल्म आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउने छ । आर आर फिल्म्स बितरण गर्ने फिल्मको निर्माण व्यवस्थापक धन बहादुर राई हुन् ।