फिल्म ’सोल्टिनी’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बुबीचको प्रेम, समाजको कठोर यथार्थ र बोल्ड निर्णयलाई झल्काइएको छ । अर्जुन सुवेदी निर्देशित फिल्मा कात्तिक ६ गते भाइटिकाको दिनदेखि प्रदर्शनमा आउँदैछ।
फिल्ममा प्रकाश र परीक्षासँगै विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायत कलाकारको अभिनय रहेको छ । फिल्ममा कार्यकारी निर्माताको रूपमा ’हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’को संलग्नता हो, जसको नेतृत्व धरानका मेयर हर्क साम्पाङले गरिरहेका छन् । इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय स्थानमा छायाङ्कन गरिएको ‘सोल्टिनी’मा समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउने सन्देश समेटिएको निर्देशक सुवेदीले दाबी गरेका छन् । दुई प्रमुख पात्रबीचको प्रेमकथा यसकै मुख्य आकर्षण रहेको बताइएको छ।
गीतमा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ भने छायाङ्कन सुशन प्रजापतिले गरेका हुन् । कथा पटकथा अर्जुन सुवेदी र कुमार भट्टराईको रहेको छ । फिल्मलाई रेजिना बिस्ट र संसार चौलागाईँले निर्माण गरेका हुन् भने सह–निर्मातामा रोशन चौलागाईँ, वसन्त कटुवाल र सुजन अधिकारी छन् ।