‘वरिष्ठ बलराम’ को दुई पोस्टर : बल ठुलो कि बुद्धि ? ‘वरिष्ठ बलराम’ को दुई पोस्टर : बल ठुलो कि बुद्धि ?

बल र बुद्धि सहित ‘वरिष्ठ बलराम’को दुई पोस्टर सार्वजनिक गरिएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको चलचित्रका दुई वटा पोस्टर सार्वजनिक भएका हुन् । सार्वजनिक पहिलो पोस्टरमा फिल्मका मुख्य दुई कलाकार दयाहाङ राई र विजय बरालसँगै अन्य कलाकार पनि छन् । दयाहाङ विजयले मुख्य स्थान पाएको पोस्टरमा बाँकी अन्य कलाकारलाई पनि देख्न सकिन्छ ।

अनुहार थोरै बडी पार्टमा देखिएका दयाहाङ सोचमग्न छन् । विजय पनि केही सोच्दै रिसाएको भावमा कसैलाई नियालिरहेका छन् । पोस्टरमा समृद्धि अर्याल भने दन्तलहर देखाएर मुस्कानमा देखिएकी छन् । मुख्य तीन कलाकार दयाहाङ, विजय र समृद्धिसँगै अन्य पाँच कलाकार पनि पोस्टरमा देखिएका छन् । उनीहरू तीनवटा बाइकमा कसैलाई पिछा गरिरहेका छन् । एउटा बाइक भने विजय स्वयंले चलाएका छन् । अर्को एउटा बाइक मधेसीको गेटअपमा प्रदीप चौधरीले चलाइरहेका छन् ।

पोस्टरले चलचित्रको कथा के हो भन्नेमा कौतुहलमा सिर्जना गरेको छ । अर्को पोस्टरमा मुख्य कलाकारद्वय दयाहाङ र विजय छन् । जसमा यी दुई एकअर्काविरुद्ध उत्रिएका छन् । घम्साघम्सी गरिरहेको यो पोस्टरले उनीहरू दुई आफ्नो अस्तित्वका लागि संघर्ष गरिरहेको प्रष्ट पार्छ । जो एकले अर्कोलाई सक्काएर आफू वरिष्ठ भएको प्रमाणित गर्न चाहने यो पोस्टरले संकेत गरेको छ ।

पृष्ठभूमिमा राजमार्ग छ । जहाँ टिपर छन् । उनीहरू ठेक्कापट्टामा रहेका हुन कि भन्ने अनुमान लगाउन सकिन्छ । कात्तिक ६ गते भाइटीकामा रिलिज हुने ‘वरिष्ठ बलराम’ पोस्ट प्रोडक्सनमा छ । ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् । सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायांकन चितवनका विभिन्न स्थानमा गरिएको हो । निर्देशक पौडेलकै कथा र सम्पादन रहेको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti