सोमबार फूलपाती देखि प्रदर्शनमा आउने बहु प्रतीक्षित फिल्म ‘बलिदान’ को नयाँ गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक गरिएको छ। यस गीतमा सुजन चापागाईँले सङ्गीत तथा सुजन र भुषण खतिवडाले स्वर दिएका छन् भने शब्द हर्क साउदको रहेको छ।
भिडियोमा घना जङ्गलबिचको आदिवासी बस्ती देखाइएको छ, जहाँ आदिवासीहरूबिच अभिनेता समीर भट्टले नृत्य र अभिनय गरेका छन्। भिडियोमा कोरियोग्राफर समेत रहेका सुनिल क्षेत्री र चलचित्रका निर्देशक सन्तोष सेनलाई पनि देख्न सकिन्छ। सेनले चलचित्रमा आदिवासीहरूको मुखियाको भूमिका निर्वाह गरेका छन्।
यसअघि फिल्म ‘बलिदान’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले पेरेन्टल गाइडेन्स (पिजी) प्रमाणपत्र प्रदान गरिसकेको छ । सन्तोष सेन निर्देशित यस फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतका कलाकारको अभिनय रहेको छ ।
निर्माता पक्षका अनुसार फिल्मले हालसम्म करिब २५० शो सुनिश्चित गरिसकेको छ भने हल सञ्चालकको मागअनुसार यो सङ्ख्या ३०० सम्म पुग्ने सम्भावना छ । अग्रिम टिकट बिक्री सुरु भएसँगै दर्शकको उत्साह उच्च देखिएको छ ।
‘आसुसेन फिल्म प्रोडक्सन प्रा.लि.’को ब्यानरमा बनेको ‘बलिदान’का निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका छन् । दसैँको अवसर पारेर रिलिज हुन लागेको यस चलचित्रलाई पारिवारिक मनोरञ्जनको मुख्य आकर्षण बन्ने आशा गरिएको छ ।