समिर भट्ट स्टारर फिल्म ’बलिदान’ ले हालसम्म कति कलेक्सन गर्यो त ? फिल्मका निर्माता र वितरकले बक्स अफिस रिपोर्ट सार्वजनिक गरेका छैनन् । यद्पी फिल्मको सुरुवाती व्यापार सुखद् छ । यो साता सन्तोष सेन निर्देशित फिल्मले कस्तो व्यापार गर्छ भन्ने कौतुहलता देखिएको छ ।
वितरकहरूका अनुसार फिल्म बलिदानले काठमाडौंका हलहरूका साथै पश्चिम नेपालको धनगढीदेखि पूर्वी नेपालका हलहरूसम्म पनि राम्रो दर्शक पाइरहेको छ । प्राविधिक कारणले पोखराको मिडटाउन हलबाट हटेको ’बलिदान’ फेरि प्रदर्शनमा आएको कुबेर सिने डिस्ट्रिब्युसनका पुष्कर घिमिरेले जानकारी दिए। उनले उपत्यका बाहिरको व्यापारबाट आफू सन्तुष्ट रहेको बताएका छन् । काठमाडौं उपत्यकाका वितरक गोविन्द शाहीले पनि देशका पछिल्ला घटनाक्रममा बाबजुद चलचित्र क्षेत्रलाई चलायमान बनाउन ’बलिदान’ले महत्त्वपूर्ण भूमिका खेलेको जनाए।

देशको विषम परिस्थितिबीच रिलिज भए पनि फिल्मको व्यापारबाट आफू सन्तुष्ट रहेको निर्देशक सन्तोष सेनले बताए। उनले व्यापारिक आँकडा एकमुस्ट रूपमा सार्वजनिक गर्ने तयारी रहेको जनाएका छन् ।
अभिनेता समीर भट्ट, अभिनेत्री ऋचा शर्मा, र निर्देशक सेन लगायत चलचित्र युनिटले हप्ताभर काठमाडौंका हलहरूमा दर्शक भेटेका थिए। दर्शकको साथबाट हर्षित भएका अभिनेता भट्टले आफ्नो लामो समयको मेहनतलाई दर्शकले प्रेम गर्दा खुसी लागेको बताए। दर्शकहरूले भट्टको अभिनय र एक्सन दुवैलाई दमदार भन्दै कतिपयले उनलाई पछिल्लो पुस्ताको एक्सन स्टारको रूपमा चित्रण गरेका छन्।
’आशुसेन फिल्म प्रोडक्सन प्रा.लि.’को ब्यानरमा बनेको यस फिल्ममा समीर भट्टका साथै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् ।