फिल्म ‘हरि बहादुरको जुत्ता’ युटिन मोफसल यात्रामा छ । फिल्मका मुख्य अभिनेता हरिवंश आचार्य, निर्माता तथा कलाकार मोहितवंश आचार्य यतिबेला नेपालगन्ज पुगेका छन्।
नेपालगन्जको सिनेरोयल हलमा विहानबाट नै दर्शकको उल्लेख्य उपस्थिति रहेको छ । अझ हरिवंश आचार्य पुगेपछि उनलाई भेट्न र उनीसंग फोटो खिचाउने दर्शकको उपस्थिति हलमा राम्रो देखिएको छ । आज नेपालगन्जका हलमा दिनभर नै हरिवंश आचार्यले दर्शक भेट्ने कार्यक्रम रहेको छ।

असोज १३ गते दशैँको फूलपातीबाट रिलिज भएको फिल्म ’हरिबहादुरको जुत्ता’ हलमा यतिबेला पनि सफलताका साथमा प्रदर्शन भैरहेको छ। दर्शकको राम्रो वर्ड अफ माउथका कारण बक्स अफिसमा चार करोड माथीको व्यापार गरिसकेको चलचित्रले रिलिजको तेश्रो सातासम्म पुग्दा पनि सम्मानजनक शो संख्या र दर्शकको साथ पाइरहेको छ । रिलिजको दिन देखि नै काठमान्डौ उपत्यकाका विभिन्न हलमा चलचित्र हेर्ने दर्शक भेट्न मुख्य अभिनेता हरिवश आचार्य सहितको चलचित्रको टिम पुगिरहेको छ।
दिपेन्द्र के. खनाल निर्देशित फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।