फिल्म ’जेरी अन टप’ शनिबार एकै दिन एक करोड माथिको कलेक्सन गर्न सफल भएको छ । निर्माता सरोज न्यौपानेका अनुसार चलचित्रले शनिबार मात्रै १ करोड १ लाख ३२ हजार ८ सय १३ रुपैयाँ ३३ पैसा कलेक्सन गरेको छ।
चलचित्र विकास बोर्डले उपलब्ध गराएको रियल टाइम बक्सअफिस रिपोर्ट सार्वजनिक गर्दै न्यौपानेले आफ्नो चलचित्रले प्रदर्शनको नवौं दिनमा एकै दिन १ करोडको माइलस्टोन क्रस गरेको जानकारी गराएका हुन् । एकपछि अर्को दिन आक्रामक व्यापारलाई निरन्तरता दिएको चलचित्रप्रति दर्शक क्रेज आइतबार पनि उस्तै देखिँदा यो क्रमले निरन्तरता पाउने संकेत अग्रिम बुकिङले देखाएको छ । अग्रिम अनलाईन बुकिङमा फिल्मले अफ डे मानिने आइतबार (आज) पनि सोहि प्रकृतिको विजनेस गर्ने देखिएको छ, आइतबारको शोज पाएका देशभरका अधिकांश हल शोज सुरू हुनु अगावै हाउसफूल भइसकेका छन् । राजधानी काठमाडौंसँगै मोफसलमा प्रमुख शहरदेखि ग्रामिण भेगमा हलहरूमा समेत फिल्मप्रति दर्शक आकर्षण उच्च देखिएको छ । फिल्मले नेपाल सहित विश्व बजारबाट १२ करोड कलेक्सन गरेको रिपोर्ट छ।
चलचित्रमा जोडिएको कलाकारहरूको अभिनय, हिमाली दृश्य, निर्देशन कला, छायांकन, व्याकग्राउण्ड स्कोर, सम्पादन लगायतका पक्षले उत्कृष्ट तारिफ भेटेका छन् । दर्शकले फिल्मका मुख्य कलाकार अनमोल केसी, आँचल शर्मा र जसीता गुरुङबीचको त्रिकोणात्मक प्रेमको केमेस्ट्रिलाई उत्कृष्ट भनेका छन् । साथमा लामो समयदेखि पर्दामा पुनरागमन गरेका अभिनेता भुवन केसी, चर्चित हाँस्य कलाकार केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्तको अभिनयले पनि दर्शकबाट प्रशंसा पाएको छ।
सुयोग गुरुङको निर्देशनमा बनेको फिल्मलाई दुलिप रेग्मीले दृश्यांकन गरेका हुन् । अनन्या फिल्मस् को प्रस्तुतिमा बनेको फिल्मले पहिलो साता मात्रै ५ करोडमाथिको कलेक्सन गरिसक्दा त्यसपछिको पूर्ण कलेक्सन रिपोर्ट बाहिर आएको छैन ।



