छायाँलय फिल्म्सले फिचर फिल्म ‘हिमालयन गोल्ड’ निर्माणको घोषणा गरेको छ । फिल्मको यसै साता काठमाडौंस्थित कमलादी गणेस्थानमा मुहुर्त गरिएको थियो ।

ह्वाइट एलिफन्ट मोशन पिक्चरसँगको सहकार्यमा बन्ने यो फिल्मको छायांकन आगामी नोभेम्बरदेखि सुरु हुनेछ । हिमाली क्षेत्रको कठोर र भव्य परिवेशमा आधारित यस फिल्ममा परिक्षा लिम्बु, कर्मा, सुनील थापा, मेनुका प्रधान, साजन थापा मगर, अङ्कित खड्का, सुनील तामाङ, तेन्जिङ ठाकुरी, सबिता अधिकारी, ऋषिकेश बस्याल र राहुल मुखिया लगायत कलाकारको अभिनय रहनेछ । फिल्मले जीवन, साहस र आशाको कथा प्रस्तुत गर्नेछ।
सन् १९९२ को पृष्ठभूमिमा तयार गरिएको फिल्ममा एक गाउँकी युवतीले यार्सागुम्बा संकलन गर्न हिमाल चढ्ने क्रममा निर्दयी लुटेरा समूहसँग सामना गर्नु परेपछि सुरु हुने संघर्षको कथा पर्दामा प्रस्तुत गर्नेछ । यार्सागुम्बालाई औषधीय मूल्यका कारण ‘हिमालयन गोल्ड’का रूपमा चिनिन्छ।
फिल्ममा हिमालय क्षेत्रलाई केवल दृश्य पृष्ठभूमि नभई एक जीवित पात्रका रूपमा चित्रण गरिने निर्माण पक्षले आज सिनेमा घोषणाका लागि जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
फिल्ममा लेखन र निर्देशन धिराज राजवंशीको रहेको छ । राजवंशी लस एन्जलस फिल्म स्कूलका स्नातक हुन् । यो उनको पहिलो फिचर निर्देशन हो । छायाँलय फिल्म्सले नयाँ दृष्टिकोण र साहसिक सोचका कारण उनलाई निर्देशनको जिम्मेवारी सुम्पिएको जनाएको छ।
फिल्मको छायांकन मुम्बईमा ‘कलंक’, ‘लस्ट स्टोरीज’ र ‘सस्पेक्ट’ जस्ता सिनेमामा काम गरिसकेका चर्चित छायाँकार वशिष्ठ प्रधानले गर्ने भएका छन् । उनले हिमालयको भव्यता र मानवीय संवेदनशीलता दुबैलाई एकैपटक पर्दामा उतार्ने तयारी गरेका छन् । छायाँलय फिल्म्सले अर्थपूर्ण र मनोरञ्जनात्मक दुबै पक्ष समेटेर यो फिल्ममार्फत देशको कथा र सौन्दर्यलाई विश्वसामु पुर्याउने लक्ष्य राखेको जनाएको छ। कम्पनीका अनुसार ‘हिमालयन गोल्ड’ नेपाली माटोमा रोपिएको तर विश्वस्तरीय दृष्टिकोणमा सुनिने कथा बन्नेछ ।
फिल्मका लेखक–निर्देशक धिराज राजवंशीले ‘हिमालयन गोल्ड’लाई पहाडबाट जन्मिएको कथा भन्दै यसले सहनशीलता, क्षति र मानवीय आशाको नाजुक शक्ति देखाउने बताएका छन्। उनले भने, “यो फिल्ममार्फत हामी विश्वभरका दर्शकलाई यहाँका मानिस, भूपरिवेश र आत्माको सौन्दर्यबाट नेपालको मुटुको धड्कन महसुस गराउन चाहन्छौं।” निर्माण पक्षका अनुसार फिल्मले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने सम्भावना बोकेको छ ।



