दयाहाङ राई र मिरुना मगर नेपाली सिनेमा उद्योगको सबैभन्दा हिट जोडी हो । ‘कबड्डी ४’बाट सुरु भएको उनीहरुको अनस्क्रिन जुगलबन्दी त्यसयता लगातार हिट छ ।
त्यसबेला ‘कबड्डी ४’ले नेपाली सिनेमा उद्योगका सबै बक्सअफिस रेकर्ड तोडेको थियो । त्यसपछि उनीहरुको अर्को सिनेमा ‘जारी २’ वर्षकै सबैभन्दा धेरै कमाउने सिनेमा बन्यो । नेपाली बक्सफिसमा दयाहाङ र मिरुनाको ‘जारी २’ले १७ करोडभन्दा माथि कमाएको थियो ।
‘नाङ्गो गाउँ’ले दोहोरो अंकमा कलेक्सन गर्न नसके पनि हिट भयो । दयाहाङ र मिरुनाको स्क्रिन कपल’ले ह्याट्रिक गर्यो । त्सस्तै यो जोडीको अर्को सिनेमा ‘घरज्वाइँ’ पनि हिट भयो । यो ‘स्क्रिन कपल’ले जति पनि सिनेमामा काम गरेको छ, सबै हिट भएका छन् । अब यही सिने जोडीको अर्को सिनेमा रिलिज हुँदै छ, ‘जारी २’ ।
कात्तिक २१ गते यो सिनेमा रिलिज हुँदा दयाहाङ र मिरुनाको जोडीले अर्को ब्लकबस्टर सिनेमा दिने अपेक्षा धेरैको छ । यो सिनेमाले कम्तीका दोहोरो अंकमा नेपाली बक्सअफिसमा कलेक्सन गर्नेमा निर्माणपक्ष ढुक्क छ ।
पहिलो सिक्वेलको ब्रान्ड, रुचाइएका कलाकारहरू, रुचाइएका कलाकारको जोडी, साहित्यिक व्यक्तिको लेखन, आफूलाई निर्देशनमा प्रमाणित गरिसकेका निर्देशकको निर्देशन, नेपाली सिनेमा उद्योगलाई नै लिड गरिरहेका रामबाबु गुरुङसँगको टाइअप, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको पुनः सहकार्य, स्थापित ब्यानर र मौलिक कथामा आधारित भएकाले ‘जारी २’ ब्लकबस्टर हुनेमा धेरैको अपेक्षा छ।
अनुभवी लेखक र निर्देशक उपेन्द्र सुब्बाको ‘जारी २’ ब्लक बस्टर भयो भने दयाहाङ र मिरुनाको अनस्क्रिन जोडी थप सफल हुनेछ । यो जोडीका सिनेमा सफल हुने क्रमले निरन्तरता पाउनेछ ।
नेपाली सिनेमा उद्योगमा पछिल्लो समय यसरी लगातार हिट सिनेमा दिने जोडी छैन । त्यसैले पनि दयाहाङ र मिरुनाको जोडीलाई सफल अनस्क्रिन कपलका रूपमा लिने गरिएको छ । यो सिनेमाले पनि दोहोरो अंकको सफलता बक्स अफिसमा पायो भने सायद यो जोडीलाई लिएर सिनेमा बनाउन निर्माता तथा निर्देशकरू थप लालायित हुनेछन् ।
उपेन्द्र सुब्बा लिखित तथा निर्देशित सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो सिनेमा यो वर्ष व्यापार गर्ने सिनेमाको श्रेणीमा राखिएको छ । सिनेमामा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ ।
कवि उपेन्द्र सुब्बाको डेव्यु निर्देशकिय ‘जारी’ २०८० सालको ब्लकबस्टर सिनेमा हो । सो वर्ष यो सिनेमाले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो । त्यसैले निर्माण घोषणा भएदेखि नै यो सिनेमालाई प्रतिक्षित सिनेमाको सूचीमा राखिएको छ । सिनेमाले आफ्नो पछिल्लो व्यापारिक इतिहासलाई कायम राख्ने बलियो अपेक्षा राखिएको छ ।



